Class 10 Nepali Lesson 4

Class 10 Nepali Lesson 4 Note
Unit-4

यस्तो कहिल्यै नहोस्

अभ्यास

शब्द भण्डार

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

उत्तर👉

सङ्कट = आपत्विपत्

विलाप = बिलौना

लोहोरो = सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण

शङ्का = सन्देह

अपरिचित = चिनजान नभएको

सातो = होस

२.दिइएको अनुच्छेदबाट तीन तीनओटा लघुतावाची र समूहवाची शब्द पहिचान गर्नुहोस् :

कमिलाको ताँती मौरीको घारमा पसेको देखेर कागको बथान कराउँदै आयो । काग कराउँदा कागका मुखमा रहेको भातको सितो खस्यो । बाँदर केराको कोसो मुखमा च्यापेर रुखमा चढ्यो । बाँदर चढेको देखेर कागको बथान उड्यो । बाँदर त्यहाँबाट कुदेर बाँसघारीतिर गयो । रुखबाट उडेको तिर्खाएको कागले पानीको थोपो पनि खान पाएन कमिलाले भने चिनीका दानाभन्दा महका थोपा मिठो मानी खाए ।

उत्तर👉

लघुतावाची शब्दः  सितो, कोसो, थोपो, दाना ।

समूहवाची शब्दः  ताँती, घार, बथान, बथान, घारी ।

३.पाँच पाँचओटा लघुतावाची र समूहवाची शब्द पर्ने गरी अनुच्छेद लेख्नुहोस्ः

उत्तर👉

वनभोज

बिहानै एक टुका स्याउ खाएर म वनभोज गएँ। बाटोमा गाडीहरु ताँती लगाएर हिँडेका थिए। वनभोज स्थलमा मान्छेहरुको भिड थियो । एक हुल मान्छेहरु नाचिरहेका थिए । त्यहाँ बाँदरको बथान पनि थियो। मैले बाँदरलाई एक कोसो केरा दिएँ । साथीले कुकुरलाई एक चोक्टो मासु दियो । त्यहाँ एउटा रुखमा अरिङ्गालको गोलो पनि देख्यौँ। मैले त्यहाँ एक त्यान्द्रो साग र एक पित्को अचार पनि खाएँ ।

४. दिइएका पद, पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर👉

हरे ! = हरे ! पहिरोले गाउँ नै बगायो ।

सञ्जाल  = नेपालमा धेरै मानिसले सामाजिक सञ्जाल चलाउँछन् । 

विवरण = मैले मेरो दसैंको खर्च विवरण बाबालाई सुनाएँ । 

सुइँकुच्चा ठोक्नु = चोरले सामान चोरेर राति नै सुइँकुच्चा ठोकेछ ।

हुने हार दैव नटार = हुने हार दैव नटार भनेझै सबैले एक दिन यो संसार छोडेर जानैपर्छ ।

नेपालमा धेरै मानिसले सामाजिक सञ्जाल चलाउँछन् । 

लोभले लाभ लाभले विलाप = चिट्ठा भरेर धेरै कमाउँछु भन्दा साथमा भएको पैसा पनि चैट भयो। लोभले लाभ लाभले विलाप भनेको यही हो ।

बोध र अभिव्यक्ति

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) ‘यस्तो कहिल्यै नहोस्’ मनोवाद कुन पात्रको घटनासँग सम्बन्धित छ ?

उत्तर :  ‘यस्तो कहिल्यै नहोस्’ मनोवाद शुकमान पात्रको घटनासँग सम्बन्धित छ ।

(ख) मनोवादमा ‘नगद पुरस्कारसहित बधाई दिएको सन्देश’ भन्दा अगाडि र पछाडि कुन कुन प्रसङ्ग आएका छन् ?

उत्तर :  मनोवादमा ‘नगद पुरस्कारसहित बधाई दिएको सन्देश’ भन्दा अगाडि र पछाडि सामाजिक सञ्जाल र साइबर अपराधका प्रसङ्ग आएका छन् ।

(ग) पत्रिका मनमनै पढेको वर्णन मनोवादको कुन अनुच्छेदमा छ ?

उत्तर :  पत्रिका मनमनै पढेको वर्णन मनोवादको पाँचौं अनुच्छेदमा छ ।

(घ) मनोवादमा कुन पुरुषीय कथनशैली उपयोग गरिएको छ ?

उत्तर :  मनोवादमा प्रथम पुरुषीय कथनशैली उपयोग गरिएको छ ।

४. दिइएको मनोवादको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

लौ हेर त, १२ पो बजिसकेछ ! (घडी हेर्दै) अब त निदाउनुपर्यो । ‘हुने हार दैव नटार’ भन्छन् । पाँच लाख डुब्यो भनेर अब मैले त्यसैमा चिन्ता लिएर मेरो ज्यान सुकाउनुभन्दा आत्मविश्वासका ऊर्जाले ज्यान बचाउनतिर लाग्नुपर्छ । दुई वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा गयो त के गर्ने ? आफ्नै बुद्धिले गयो । मरुभूमिमा पसिना बगाएर कमाएको त्यो मेरो धन झुक्याएर लाने त्यस्ता दुष्टलाई भगवान्ले पनि सजाय त देलान नि ! हे भगवान् । (अलि ढुक्क हुँदै निदाउनका लागि आँखा चिम्म गर्छन्) खै भगवान्ले पनि के गर्नु र आफ्नै बुद्धि बिग्रेपछि । (दाहिनेतिर कोल्टो फर्केर हातका पन्जालाई टाउकाको सिरानी बनाएर सुत्छन्) । अँ, अस्ति एउटा समाचार पढेको थिएँ । साइबर अपराधका बारेमा लेखेको थियो। ‘कोही जानी नजानी यस्तो संसारमा पसेका छन्, फसेका छन्, त्यसबाट उम्किने उपाय खोज्छन् र त्यस्तामा अरू पनि कोही नफसोस् भन्ने चाहन्छन् भने नेपाल प्रहरीको साइबर अपराध शाखामा तुरुन्त सम्पर्क गर्नू’ भनी त्यसमा पनि लेखेको थियो। (अलि आश्वस्त हुँदै) म त फसें फसें, मेरो पैसा त डुब्यो डुब्यो ! अब अरू कोही पनि नफसुन् र नडुबुन् भन्नका लागि अब साइबर अपराध शाखामा जान्छु ।

प्रश्नहरु

(क) मनोवादको अंशमा पात्र निदाउन नसक्नुको कारण के हो ?

उत्तर : दुई वर्ष अरबको खाडीमा बसेर कमाएको पाँच लाख डुबेको चिन्ताले पात्र निदाउन नसकेका होलान् ।

(ख) पात्रले कहाँ गएर धन कमाएको थियो ?

उत्तर :  पात्रले अरबको खाडीमा गएर धन कमाएको थियो ।

(ग) पात्रले समाचारमा के कुरा पढेको थियो ?

उत्तर : पात्रले समाचारमा साइबर अपराधका बारेमा पढेको थियो ।

(घ) पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा कस्ता समस्या भोग्नुपर्यो, लेख्नुहोस् ।

उत्तर :  पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा आफूसँग भएको पैसा गुमाउनुपर्यो ।

५. ‘यस्तो कहिल्यै नहोस्’ मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटना टिपोट गर्नुहोस् ।

उत्तर : 

‘यस्तो कहिल्यै नहोस्’ मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटनाहरुः

– सामाजिक सञ्जालले गर्दा जीवन जटिल बन्नु र समस्यामा फस्नु,

– मोबाइलभित्रको साइबर संसारमा पस्दा विचार नपुऱ्याएकामा चिन्ता लाग्नु,

– सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतनासम्बन्धी कक्षामा सहभागी भएर पनि व्यवहारमा लागू गर्न नसक्दा पछुतो मान्नु,

– सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएका समस्या सम्झनु,

– मोबाइलका राम्रा र नराम्रा पक्ष सम्झनु,

– २५ लाख पाउने लोभमा फसेकोमा पछुतो हुनु,

– काकाकी छोरी पानमती झुटो जालमा परेको सम्झनु,

-दुई वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा जाँदा राति निदाउन नसक्नु,

– साइबर अपराधको सिकारबाट जोगिने उपाय सम्झनु,

– कसैलाई साइबर अपराधको सिकार बन्नु नपरोस् भन्ने इच्छा मनमा आउनु ।

६. ‘यस्तो कहिल्यै नहोस्’ मनोवादबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।

उत्तर :  ‘यस्तो कहिल्यै नहोस्’ मनोवाद समसामयिक विषयमा तयार पारिएको छ । सामाजिक सञ्जालमा प्राप्त झुटा सन्देशमा विश्वास गर्दा त्यसको दलदलमा फसेका पात्र शुकमानको मनोवाद यसमा प्रस्तुत गरिएको छ । शुकमानका माध्यमबाट हामीलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत बनाउन र साइबर अपराधका बारेमा सिकाउन खोजिएको छ । मोबाइल, इन्टरनेट आदि प्रविधिको सही प्रयोगले हाम्रो जीवन सहज हुने भए पनि यसको दुरुपयोगले हामीलाई ठुला समस्यामा पार्न सक्छ । साइबर अपराधको सिकारबाट जोगिन, आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायतका पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइन आउट वा लग आउट गर्नुपर्छ । इमेल तथा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ भन्ने सन्देश यो मनोवादबाट पाउन सकिन्छ ।

७.मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि तपाईंले कस्तो महसुस गर्नुभयो, उल्लेख गर्नुहोस् ।

उत्तर :  ‘यस्तो कहिल्यै नहोस्’ मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि मलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत बन्नुपर्ने चेतना अझ बढ्यो । प्रतिनिधि पात्र शुकमान र यस्तै ठगीका घटनाहरु स्मरणमा आइरहे । हुनत साइबर अपराधको यो प्रसङ्ग मेरो लागि नौलो त होइन । शुकमानले जस्तै यस विषयमा ज्ञान भएर पनि बेवास्ता गर्दथें तर यसले अब यस विषयमा सम्भावित घटनाप्रति अझ सचेत बनायो । सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने साइबर अपराधबाट बच्ने थप उपायहरुको ज्ञान भयो ।

८. दिइएका शीर्षकमा छोटो मनोवाद लेख्नुहोस् :

(क)  नतिजा प्रकाशनको अगिल्लो दिन

उत्तर : 

पात्रः सुमित

स्थानः सुत्ने कोठा

समयः राति १०:०० बजे

(भोलि एसईई परीक्षाको नतिजा प्रकाशन हुँदै छ। ऊ आफ्‌नो बिछ्‌यौनामा पल्टिइरहेको छ । सुमित परीक्षाको नतिजा आउने खबरले बेचैन छ । नतिजा र अब के पढ्ने भन्ने भविष्यको चिन्ताले छटपटाएको पनि छ । उसको मनमा विभिन्न कुराहरु खेलिरहेका छन् ।) 

ला ! नतिजा आउने दिन पनि आइहाल्यो। नतिजा राम्रो आए त केही चिन्ता थिएन, नतिजा राम्रो आएन भने त ढुक्कै हो, मेरो बाबाले मलाई खाडी पठाउनुहुन्छ । परीक्षाको तयारीका लागि भनेर ट्युसन, कोचिङ सबै पढियो । बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म । हैट, यति पढेर परीक्षा दिँदा पनि पास नभए त कहिल्यै नपढे पनि भो। (पानी पिउँछ ।) ह्या! कति चिन्ता लिएको मैले पनि यतिको लेख्दा ए+ नआए पनि बि सम्म त कसो नआउला र ! बाबाले छोरोले ए+ ल्याउँछ भन्ने आशा गर्नुभएको छ होला, ए+ आएन भने बाबा त पक्कै दुःखी हुनुहुने छ । छोराछोरीको राम्रो नतिजाका लागि आशा गर्नु नराम्रो पनि त होइन। (पर्दा खोलेर बाहिर हेर्छ ।) भोलि यतिबेला त नतिजा आइसक्छ । अबको बाटो के हुने भन्ने पनि यही ग्रेडले निर्धारण गर्ने होला। ए+ आए विज्ञान विषय नै पढ्नुपर्ने होला नत्र व्यवस्थापन पढ्ने त होला । हुनत यो नतिजा मात्र पनि त सबथोक होइन भो। फलामे ढोका भन्दै धेरै हाउगुजी ठानेर पनि यस्तो भएको हो । (मनलाई सम्हाल्न खोज्छ । एसईईमा राम्रो ग्रेड आएर पछि गुल्टिन र सोचेजस्तो नआएर पछि राम्रो हुन पनि त सक्छ नि । एउटा कक्षाको परीक्षा त हो, यसलाई यत्रो हाउगुजी किन ठानेको हुँला ! सोचे जस्तो नआए मिहिनेत कम भएछ, अर्को कक्षामा अझ मिहिनेत गर्नुपर्छ भनेर बुधुँला । जिन्दगीले झन् कस्ता कठिन परीक्षा लिने हो। निराश भएर हरेस खानु नपरोस् अरु त्यस्तै हो । (घडी हेर्छ) ए ढिला भइसकेछ, सुत्नुपर्यो । (बत्ती निभाएर सुत्छ ।)

(ख) पुरस्कृत हुँदाको क्षण

उत्तर : 

पात्रः सुमित

स्थानः सुत्ने कोठा

समयः राति १०:०० बजे

(सुशान्त आज खुसी छ । उसको अनुहारमा बेग्लै चमक देखिन्छ । कोठाको भित्तामा झुन्डिएको प्रमाणपत्र हेरेर आनन्दले रमाउँदै छ किनकि जिल्लास्तरीय वादविवाद प्रतियोगितामा प्रथम भएको छ र उसको मनमा विभिन्न कुराहरु खेलिरहेका छन् ।)

मनमनै) धन्य भगवान् ! (हात जोडी प्रतियोगिताका क्षण सम्झदै) मिहिनेत गरे त्यसको फल एक दिन अवश्य पाइने नै रहेछ। सानो भए ( पनि मेरो एउटा सपना पूरा भएको छ। यत्रो एकसे एक जान्ने विद्यार्थीहरु हुँदाहुँदै जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनु चानचुने कुरा पनि त होइन नि । उद्घोषकले तेस्रो र दोस्रो हुनेको नाम भनिसक्दा म प्रथम हुने आशा मरिसकेको थियो । प्रथम हुनेमा मेरो नाम भन्दा म त झण्डै उफ्रिएको ! (खुसी हुँदै) त्यो तालीको गडगडाहट र त्यतिबेला मेरो नेपाली विषय शिक्षकको मुहार पनि हेर्न लायक थियो । त्यहाँ उपस्थित ठूला ठूला मान्छेहरुले बधाई दिँदा त मलाई कस्तो लाज लागेको थियो। आमालाई यो कुरा सुनाउँदा आमाले हर्षका आँसु झार्नु भो । मलाई बल्ल थाहा भयो छोराछोरीको खुसीमा आमाबाबा कति खुसी बन्दा रहेछन् भनेर ।

एकपल्ट त त्यति धेरै मान्छेको सामुन्ने गएर कसरी बोल्ने होला भन्ने चिन्ता पनि बढ्यो । डरले मुटु ढुक्क पनि भयो। धन्न अगाडि गएर बोल्ने बेलामा त्यस्तो भएन । (घोरिँदै) अगाडि गएर बोल्दा केही गल्ती भएको भए त त्यत्रो मिहिनेत पानीमा मिल्दो रहेछ । राम्रो वक्ता बन्नलाई पहिले राम्रो श्रोता बन्नुपर्छ भन्ने मेरो शिक्षकको भनाइले पनि मलाई ढाडस मिल्यो। (गम्भीर बन्दै) धन्न मेरो पालो सुरुमा आएन । अरु बोलेपछि त्यसबाट शैली सिकेर आफ्‌नो प्रस्तुति दिन पाइयो। मैले मिहिनेत कम गरेको पनि त होइन नि । गुगलमा खोजेर र युटुबमा हेरेर तयारी गरेको फाइदै भयो। म प्रथम नभएको भए त मलाई मेरा साथीले गिज्याउँथे पनि होला । (मुस्कुराउँदै) अब त सबैको सामुन्ने छाती फुलाएर हिँड्न पाइन्छ । (कोल्टे फेर्दै) यसमा मेरा गुरु, आमाबाबा र साथीहरुको पनि ठूलो योगदान छ। मैले अझ मेरो प्रतिभालाई तिखार्नुपर्छ । मेरा लागि यो सुरुआत मात्र हो। यस्ता सफलताहरु सधैं पाए त ! मैले अब अझ कोसिस गर्नुपर्छ । (सुत्न खोज्दै) अब भोलि स्कुल जाँदा मिठाई लगेर गुरु र साथीहरुलाई दिनुपर्छ। अँ साँच्ची भोलि त प्रार्थना सभामा अगाडि बोलाएर बधाई पनि दिनुहुन्छ होला है । (घडी हेर्छ) ए, कति छिटो एघार बज्न लागेछ । अब सत्नपर्छ । ओढने ओढेर गटमट परेर सत्छ ।)

9. दिइएको विज्ञापनको नमुना पढ्नुहोस् र तपाईंको विद्यालयले प्रकाशन गरेको बालसाहित्य पत्रिकाका लागि विज्ञापन तयार गर्नुहोस्ः

कम्प्युटर तालिमको सुवर्ण अवसर

विगत पाँच वर्षदेखि कम्पुटर तालिम दिँदै आएको यस ‘जनहित कम्प्युटर तालिम केन्द्र’ मा विशेष छुटका साथ कम्प्युटरसम्बन्धी विभिन्न तालिममा भर्नाका लागि आह्वान गरिन्छ ।

(क) कम्प्युटर आधारभूत पाठ्यवस्तु (बेसिक कोर्स)

तीन महिने  

शुल्क रु. ३०००

(ख) कम्प्युटर एक्सेल 

पुरा कोर्स  

शुल्क रु. ३०००

(ग) कम्प्युटर (माथिल्लो पाठ्यवस्तु (एडभान्स कोर्स)

तीन महिने

शुल्क रु. ४०००

पुनश्चः सुरुमा भना हुने २० विद्यार्थीका लागि ४० प्रतिशत छुट दिइने छ ।

स्थानः  जनहित कम्प्युटर तालिम केन्द्र, कलैया उपनगरपालिका ५, बारा

भर्ना समयः  २०७२ वैशाख २० देखि जेठ ५ गतेसम्म

तालिमः  २०७९ जेठ १० गते

उत्तर : 

बाल पत्रिका ‘आँकुरा’ प्रकाशनसम्बन्धी सूचना

विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले हाम्रो यस रत्न राज्य माध्यमिक विद्यालयमा बालपत्रिका ‘आँकुरा’ प्रकाशन हुन लागेको सहर्ष जानकारी गराउँछौँ । बालसाहित्यको क्षेत्रमा प्रकाशन हुन गइरहेको यस पत्रिकामा आगामी अङ्कका लागि आफ्‌ना रचनाहरु पठाउनका लागि लेखन, कला र साहित्यप्रति रुचि राख्ने कक्षा १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई आह्वान गरिन्छ ।

पुनश्चः उत्कृष्ट रचनाहरुलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

रचना पठाउने ठेगानाः रत्न राज्य माध्यमिक विद्यालय, विकासनगर-४, कैलाली

मिति:  २०८० जेठ १० गतेसम्म

११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, प्रायोगिक, मनोरन्जक र चिरस्थायी बनाउँछ । विद्यालयको कक्षाकोठाको चौघेराले वा एक दिनमा हुने प्रतिविषय एक घण्टीको पढाइले मात्रै विद्यार्थीमा सिकाइको भोक तिर्खा र तलतल मेट्न सक्दैन। प्रविधिले कक्षाकोठाको शिक्षण सिकाइलाई सहज र चाखलाग्दो बनाउँछ। यसले विद्यार्थीमा अनुसन्धान र खोज गरेर नयाँ नयाँ कुरा सिक्ने बानीको समेत विकास गर्छ। प्रविधिले विद्याधर्थीका लागि परियोजना कार्य गर्नसमेत सहज बनाउँछ । यसका लागि विद्याधीले इन्टरनेट तथा अन्य क्षेत्रवाट नयाँ नयाँ विषयवस्तु खोजेर परियोजना कार्य गर्न सहयोग गर्छ। अहिले किताबकापीको ठुलो झोलाको सट्टा एउटा ल्यापटप भए पुग्ने भएको छ। केही विद्यालयमा इमेलद्वारा नै विभिन्न कार्य दिने र विद्याथीले पनि इमेलबाटै शिक्षकलाई बुझाउने पनि गरेका छन्। त्यसैले त आजभोलि विद्यार्थीमा प्रविधि मोह बढ्दै जान थालेको छ कम्प्युटर, ल्यापटप र मोबाइल उनीहरूका अनिवार्य आवश्यकता बन्दै गइरहेका छन् । त्यही प्रविधिलाई नै पढाइसँग जोडिदिंदा विद्यार्थीको पढाइ नै रुचिपूर्ण र खोजमूलक बन्दै जान थालेको छ । यसैलाई मध्यनजर गर्दै पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकका एप्स र पाठ्यपुस्तकका पिडिएफ लिङ्क सार्वजनिक गरेको छ। विद्यार्थीको एउटा मोबाइलमा नै सम्पूर्ण विषयका पाठ्यपुस्तक अट्ने भएका छन्। मन लागेका बेला उनीहरूले मोबाइल र ल्यापटपमा कुनै पनि विषयका पुस्तक पढ्न सक्ने भएका छन्। यसले हाम्रो सिकाइ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगेको छ ।

(क) प्रश्नहरु

(अ) प्रविधिको प्रयोगले सिकाइमा कस्तो सुविधा पुऱ्याएको छ ?

उत्तर :  प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, प्रायोगिक, मनोरञ्जक र चिरस्थायी बनाउन सहयोग पुऱ्याएको छ । 

(आ) तपाईंले सिकाइका लागि कुन कुन एप्स प्रयोग गर्नुभएको छ, नाम लेख्नुहोस् ।

उत्तर : मैले सिकाइका लागि गुगल, युटुब जस्ता एप्स प्रयोग गरेको छु ।

(इ) विद्यार्थीमा प्रविधिप्रति मोह बढ्नुको कारण के हो ?

उत्तर :  सिकाइ रुचिपूर्ण र चाखलाग्दो हुनुका साथै विद्यार्थीले इमेल, इन्टरनेट आदिको प्रयोगबाट नयाँ नयाँ विषयवस्तु खोजेर आफै सिक्न सक्ने भएकाले विद्यार्थीमा प्रविधिप्रति मोह बढेको हो ।

(ई) विद्यार्थीलाई परियोजना कार्य गर्न प्रविधिले कसरी सहयोग गर्छ ?

उत्तर :  प्रविधि प्रयोगबाट अनुसन्धान र खोज गरेर नयाँ नयाँ विषयवस्तु खोजेर परियोजना कार्य गर्न विद्यार्थीलाई सहयोग पुग्छ ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्ः

(अ) अनुच्छेदबाट दुईओटा समस्त शब्द खोजी तिनको विग्रह गर्नुहोस् ।

उत्तर :  कक्षाकोठा (कक्षाका लागि कोठा), चौघेरा (चार घेराको समूह)

(आ) ‘ठुलो’ र ‘पढाइ’ शब्दलाई द्वित्व प्रक्रियाबाट नयाँ शब्द बनाउनुहोस् ।

उत्तर :  ठुल्ठुलो, पढाइसढाइ ।

(इ) अनुच्छेदबाट सुरु र बिचमा दीर्घ ऊकार प्रयोग भएका एक एक ओटा शब्द टिप्नुहोस् ।

उत्तर :  सुरुमा दीर्घ ऊकार प्रयोग भएका शब्दः पूर्ण

बिचमा दीर्घ ऊकार प्रयोग भएका शब्दः खोजमूलक

भाषिक संरचना र वर्णविन्यास

१. दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा विग्रह पदावली पहिचान गरी लेख्नुहोस्ः

शुकमानले घरपरिवारको ऋण तिर्न दिनरात नभनी खाडीमा गएर पैसा कमायो। महाठगका फेला परेर आज ऊ रुनु न हाँस्नु भएको छ । ऊ घरको जेठोबाठो थियो। ऊ गाउँका निमुखालाई आपत् र विपत् पर्दा सहयोग पनि गर्थ्यो। तर के गर्नु । गृहकी लक्ष्मीले समेत के भन्लिन् भन्ने पिरले ऊ आजभोलि इन्तु न चिन्तु भएर बसेको छ ।

उत्तर👉

समस्त शब्दः दिनरात (दिन र रात), रुनु न हाँस्नु (न रुनु न हाँस्नु), जेठोबाठो (जेठो पनि बाठो पनि) 

विग्रह पदावलीः आपत् र विपत् (आपत्विपत्), गृहकी लक्ष्मी (गृहलक्ष्मी), इन्तु न चिन्तु (इन्तुचिन्तु)

२.’यस्तो कहिल्यै नहोस्’ मनोवादबाट पाँचओटा समस्त शब्द पहिचान गरी तिनको विग्रह गर्नुहोस् ।

उत्तर :  समस्याग्रस्त (समस्याले ग्रस्त), साइवर अपराध (साइबरसम्बन्धी अपराध), लोककथा (लोकको कथा), दिदीबहिनी (दिदी र बहिनी) देशविदेश (देश र विदेश)

३.दिइएका समस्त शब्दको विग्रह गर्नुहोस् :

उत्तर : 

प्रतिदिन (प्रत्येक दिन)

भरपेट (पेट भर)

पकेटमार (पकेट मार्ने)

कलाप्रवीण (कलामा प्रवीण छ जो)

चरणकमल (चरणरुपी कमल)

जेठोबाठो (जेठो पनि बाठो पनि)

त्रिभुज (तीन भुजाको समूह)

नवरत्न (नौ रत्नको समूह)

राधाकृष्ण (राधा र कृष्ण)

लाम्खुट्टे (लामा खुट्टा भएको)

सप्तर्षि (सात ऋषिको समूह)

४. दिइएका द्वित्व शब्दलाई द्वित्व हुने तरिकाका आधारमा अलग अलग सूची बनाउनुहोस् :

उत्तर : घर घर, वनैवन, कालो कालो, जो जो, निलो निलो (पूर्ण द्वित्व) 

आआफ्नो, ठुल्ठुलो, (आंशिक द्वित्व),

भातसात, नुनसुन, लुगासुगा, आनीबानी, काटकुट, कुटकाट, पिठोसिठो, आलोपालो, ऐचोपैंचो, (आपरिवर्तित द्वित्व)

५.दिइएको अनुच्छेदबाट दुई दुईओटा समस्त र द्वित्व शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्ः

उत्तर :  म आज भातसात केही खान्न भन्दै डाँडाघरे सान्कान्छा माघेसङ्क्रान्तिमा नुहाउन भनी गण्डकीतिर हिँडे। छोराले तिनलाई बाटामा भेट्यो र भन्यो, “बा। कापीसापी

किनेको पैसा पसलमा तिर्नु छ, के गरौ ?” उनले छोरालाई भने, “जाऊ बाबु, आजलाई सरसापट गरेर काम चलाऊ। भोलिपर्सितिर म आएर तिर्छु ।”

समस्त शब्दः डाँडाघरे (डाँडामा घर भएको), सान्कान्छा (साना कान्छा)

द्वित्व शब्दः भातसात (भात भात), कापीसापी (कापी कापी)

६. दिइएको अनुच्छेदबाट शब्दको सुरु, बिच र अन्तिममा दीर्घ ऊकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस् :

पूर्णबहादुर ऊष्ण ठाउँमा बस्दा रहेछन् । उनले त्यहाँ मयूर पनि पालेका रहेछन् उनका एक बंधू, एक पुत्र र एक पुत्री रहेछन् । पुत्रीले नेपालमा भएका फलफूलको विषयमा विद्यावारिधि गरिछन् । हिजो उनी राष्ट्रपतिबाट मानपदवी र विभूषण प्रदान गर्ने कार्यक्रममा ‘नेपाल विद्याभूषण’ बाट सम्मानित भइछन् ।

उत्तरः

सुरुमा दीर्घ ऊकार प्रयोग भएका शब्दः पूर्णबहादुर, ऊष्ण

बिचमा दीर्घ ऊकार प्रयोग भएका शब्दः मयूर, फलफूल, विभूषण, विद्याभूषण

अन्तिममा दीर्घ ऊकार प्रयोग भएका शब्दः बधू

७. शब्दकोशको सहायताले शब्दको सुरु, बिच र अन्तिममा दीर्घ ऊकार प्रयोग भएका पाँच पाँचओटा शब्द लेख्नुहोस् र साथीसँग छलफल गर्नुहोस्ः

उत्तर : 

सुरुमा दीर्घ ऊकार प्रयोग भएका शब्दः मूल्य, फूल, सूक्ष्म, सूर्य, सूची

बिचमा दीर्घ ऊकार प्रयोग भएका शब्दः समूह, कार्यमूलक, इमानदारीपूर्वक, अपूर्ण, प्रदूषण

अन्तिममा दीर्घ ऊकार प्रयोग भएका शब्दः आऊ, लिम्बू, भाउजू, आफू, पढूँ।

सिर्जना र परियोजना कार्य

१. दुई जना साथीबिच पढाइका बारेमा भएको संवाद लेख्नुहोस् ।

उत्तर : 

(अस्मिता र श्रेया कालिका स्कुलको कक्षा १० मा पढ्ने छात्राहरु हुन् । विद्यालयको खाजा खाने समयमा दुई चना चौरको छेउमा बसेर खाजा खाँदै आफ्‌नो पढाइका बारेमा कुराकानी गर्दै छन् ।)

अस्मिताः सुन न श्रेया, मलाई त अचेल पढाइतिर ध्यानै जान छाड्यो । 

श्रेयाः होइन के भो र फेरि ? कसैको मायामा पर्यो कि क्या हो ?

अस्मिताः ह्या, यिनलाई फेरि जतिबेला पनि मजाक मात्र गर्नुपर्ने। जति पढे पनि दिमागमा घुस्दै घुस्दैन क्या !

श्रेयाः पढाइ सजिलो त कहाँ छ र ? अध्ययनका कममा कहिलेकाहीँ यस्तो विचार आउनु सामान्य हो। केही विषयवस्तु बुझ्नलाई अलिकति कठिन हुँदैमा निराश हुनु त भएन नि ।

अस्मिताः यस्तो दुःख गरेर पढ्यो अनि पछि जागिर पनि पाइँदैन । बिहे गरेर लोग्नेको घरमा गृहिणी भएर बस्नुपर्ने होला ।

श्रेयाः फेरि यस्तै कुरा, तिमी जस्तो मान्छेले पनि यस्तो कुरा गर्न सुहाउँछ ? राम्रोसँग पढेर आत्मनिर्भर बन्नुपर्छ। महिलाहरु पढेर कहाँ कहाँ पुगिसके, यिनको दिमाग भने अझै पन्ध्रौं शताब्दीमै छ । फेरि पढ्ने जागिर खान मात्र पनि त होइन । 

अस्मिताः उसो भए भन न त पढेर के गर्ने ?

श्रेयाः पढेपछि जीवन सहज हुन्छ । दैनिक समस्याहरु पनि सही किसिमले समाधान गर्न सकिन्छ । सही समयमा सही निर्णय लिने क्षमता विकास हुन्छ । सबैभन्दा ठुलो कुरा त पढाइले हामीलाई आत्मनिर्भर बनाउँछ ।

अस्मिताः त्यो त हो । अब राम्रोसँग पढ्नुपर्छ । तिमी पनि सिकाऊ है।

श्रेयाः भइहाल्छ नि । (घण्टी बज्छ । दुवै कक्षाकोठातिर जान्छन् ।)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *