आयोगमा पेस गरिएको समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रूप दिन आयोगलाई चुनौती थपिँदै गएको छ। पार्टीभित्रको आन्तरिक विवादका कारण कतिले दलबाट दिएको उम्मेदवारी नै फिर्ता लिएका छन् भने कुनै दलले एकीकरणपछि साझा रूपमा बन्दसूची बनाउन आयोगलाई दबाब दिइरहेका छन्।
सोमबार बन्दसूचीमा रहेका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता लिने समयसीमा तोकिएको थियो। १७ विभिन्न पार्टीका गरी ८५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराइसकेका छन्। फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्यको चुनावका लागि दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अबेला रातिसम्म आयोगमा बन्दसूची मिलाउनेबारे घोत्लिरहेका थिए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता भएपछि दुवै पार्टीले यसअघि बुझाएका समानुपातिक बन्दसूचीका विषयमा छलफल गर्न उनी आयोग पुगेका थिए। छलफलपछि दुवै पार्टीबाट बुझाइएका उम्मेदवारको नाम जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार रहने गरी बन्दसूची तयार गरिने पार्टीका अध्यक्ष यादवले जनाए। अध्यक्ष यादवले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग समानुपातिक बन्दसूचीका विषयमा छलफलसमेत गरेको बताए।
त्यसैगरी डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा बन्दसूचीकै विषयमा तीव्र मतभेद बढेको छ। त्यो विवादको बिउ बन्दसूचीमा उम्मेदवारको क्रम संख्यामा तलमाथि भएकोबाट रोपिएको हो। खस आर्य समूहलगायतबाट असन्तुष्ट पक्षका १८ जनाले बन्दसूचीबाट नाम फिर्ता लिन आयोगमा निवेदन दिएका छन्।
पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लक्ष्मी खड्का नेतृत्वको समूहले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएको हो। जनमत पार्टीको खस आर्य र जनजाति समूहमा रहेका उनीहरूले आफ्नो नाम फिर्ता लिएका पार्टीको सचिवालय सदस्य राजेश मण्डलले जनाए। बन्दसूचीबाट नाम फिर्ता लिनेमा लक्ष्मी बराल, सुमित्रा खतिवडा, प्रतीक्षा पौडेल थापा, कृष्ण भट्टराई, लक्ष्मी खड्का, दिनेश पाण्डे, साधनाकुमारी पराजुली रहेका छन्। त्यसैगरी, प्रमिला श्रेष्ठ तिवारी, खड्गबहादुर तामाङ, पूजा मर्दनिया, प्रकाश श्रेष्ठ, गेदबहादुर थापा मगर, चेतबहादुर कार्की, सुमनराज काफ्ले, सञ्जीवकुमार खड्का र तेजप्रसाद आचार्यले पनि उम्मेदवारी फिर्ता लिन आयोगको कार्यालयमा निवेदन दिएका छन्। जनमत पार्टीका सचिवालय सदस्य मण्डलका अनुसार नाम फिर्ता लिएका स्थानमा दलको तर्फबाट अरू उम्मेदवारको बन्दसूची पेस हुने छ।
पुस २९ गते उम्मेदवारले फिर्ता लिएको बारे दललाई आयोगले सूचित गर्ने तालिका छ। पुस ३० देखि माघ २ सम्म उम्मेदवारी फिर्ता भएको समावेशी समूहमा दलहरूले नयाँ नाम पेस गर्नुपर्नेछ। माघ २० गते समानुपातिक बन्दसूचीको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए।
प्रकाशित : पुस २९, २०८२ ०९:४०
