Class 11 Social(सामाजिक) एकाइ 2 Note
Unit (एकाइ)-2
जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू
पाठ १ – डिजिटल साक्षरता
सारांश
इन्टरनेटको विकास भएपछि सूचना तथा प्रविधिको क्षेत्रमा नवीनतम विकास र तिनको प्रयोगले सबै क्षेत्रलाई प्रभावित पारेको छ । शिक्षा, उद्योग, व्यापार, पर्यटन, कृषि, चिकित्सा, इञ्जिनियरिङ्ग लगायतका क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग भएको छ।
कम्प्युटर, इन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्ने, सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सूचनामा परिवर्तन गर्ने, प्रशोधित सूचनालाई भण्डारन गर्ने र उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने कार्य नै सूचना तथा सञ्चार प्रविधि हो । यसलाई छोटकरीमा सूचना प्रविधि (आइटी) पनि भन्ने गरिन्छ।
सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ। प्रो. हिलर स्पाइर्सका अनुसार डिजिटल साक्षरताका तीन पक्षहरू हुन्छन् :
(क) डिजिटल सामग्री प्राप्त र उपयोग गर्ने
(ख) डिजिटल सामग्री सिर्जना गर्ने
(ग) डिजिटल सामग्री सञ्चार वा वितरण गर्ने
कम्प्युटर विद्युतीय यन्त्र हो। प्रयोग गर्ने मानिस तथा प्रयोजन अनुसार कम्प्युटर विभिन्न आकार र प्रकारका हुन्छन् । व्यक्तिहरूले स्मार्टफोन, ट्यावलेट, ल्यापटप, डेस्कटप जस्ता कम्प्युटर प्रयोग गर्दछन् भने Google, yahoo जस्ता ठूला कम्पनीले धेरै मानिसले चलाउन मिल्ने मेन, प्रेम र सुपर कम्प्युटर प्रयोग गर्दछन् । कम्पुटरमा हार्डवेयर र सफ्टवेयर हुन्छ।
क्रियाकलाप
१. कम्प्युटरमा रहेका डकुमेन्ट कसरी प्रिन्ट गर्न सकिन्छ, चरणहरू उल्लेख गर्नुहोस् । सम्भव भएमा डकुमेन्टसमेत प्रिन्ट गरेर देखाउनुहोस्।
उत्तर👉 कम्प्युटरमा भएका डकुमेन्टलाई कुनै पनि प्रिन्टर प्रयोग गरेर प्रिन्ट गर्न सकिन्छ। त्यसका लागि आफ्नो कम्प्युटरमा वा ल्यापटपमा सम्बन्धित प्रिन्टरको Software/Driver install (इन्स्टल) गरिएको हुनुपर्छ। यदि आफ्नो कम्प्युटरमा Software/Driver install गरिएको छैन भने प्रिन्ट गर्नुपर्ने डकुमेन्टलाई प्रिन्टरको Software/Driver install गरिएको कम्प्युटरमा सार्नुपर्छ । यसका लागि आफ्नो पेनड्राइभ वा मेमोरी कार्डमा भण्डारण गर्ने उपकरण प्रयोग गर्नुपर्दछ।
यसरी प्रिन्टरको Software/Driver install गरिएका कम्प्युटरमा भएका कुनै पनि डकुमेन्ट पनि प्रिन्ट गर्न सकिन्छ। यसप्रकारको डकुमेन्ट प्रिन्ट गर्न जानेपछि अन्य प्रकारका डकुमेन्ट पनि प्रिन्ट गर्न सजिलो हुन्छ। डकुमेन्ट प्रिन्ट गर्ने चरणहरू यसप्रकार छन् :
१. प्रिन्ट गर्नुपर्ने Word फाइल खोल्नुहोस् । पेज कस्तो छ हेर्नका लागि Print Preview मा जान सकिन्छ।
२.तपाईंले Word को पुरानो Version प्रयोग गर्नुभएको भए पहिले Print preview मा गएर सेटिङहरू मिलाउनुपर्छ। Word 2013 वा त्योभन्दा पछिका Version प्रयोग गर्नुभएको भए तल भनेअनुसार गर्नुपर्दछ : File मेनुमा जानुहोस् र Print अप्सनमा क्लिक गर्नुहोस् । यसो गर्दा सँगैको जस्तो window खुल्छ।
(क) Printer लेखेको भन्दा तलको बाकसमा क्लिक गर्नुपर्छ र Printer छान्नुपर्छ। Settings मा Print All Pages देखाएको हुन्छ। सबै पेजहरू प्रिन्ट गर्नुपर्ने भए केही नगर्नुहोस् । तर सबै पेजहरू आवश्यक नभएमा त्यसैमा क्लिक गरी देखाइएका विकल्पहरूमध्ये उपयुक्त विकल्प छनोट गर्नुहोस्।
(ख) कुनै निश्चित पेज वा पेजहरू प्रिन्ट गर्नका लागि Pages पछि दिइएको बाकसमा पेज नम्बर टाइप गर्नुपर्छ।
(ग) कुनै एक निश्चित पेज प्रिन्ट गर्न सोही पेज नं. टाइप गर्नुपर्छ।
(घ) कुनै एउटा पेजदेखि अर्को पेजसम्म सबै प्रिन्ट गर्नका लागि अगिल्लो पेज नं. र पछिल्लो पेज नं. को बिचमा ड्यास राखेर टाइप गर्नुपर्छ।
(ङ)डकुमेन्टका बिच-बिचका पेजहरू प्रिन्ट गर्नुपर्ने भएमा पेज नं. हरूका बिचमा कमा राखेर टाइप गर्नुपर्छ।
(च) आवश्यकताअनुसार अन्य Settings मिलाउनुहोस् । कागजको साइज सामान्यतः A4 हुन्छ। विशेष कागज भएको अवस्थामा बाहेक A4 राख्नुहोस्।
(छ) सबैभन्दा माथि Copies लेखिएको हुन्छ। त्यसमा सामान्य अवस्थामा 1 उल्लेख गरिएको हुन्छ। एकभन्दा बढी प्रति आवश्यक भए सोअनुसार मिलाउनुहोस्।
(ज) अन्त्यमा Print लेखिएको बटनमा क्लिक गर्नुहोस् । तपाईंको डकुमेन्ट प्रिन्ट हुन्छ।
२. माइक्रोसफ्ट एक्सेल र पावरप्वाइन्ट कसरी चलाउने भन्नेमा छलफल, अध्ययन र अभ्यास गर्नुहोस्।
उत्तर👉 माइक्रोसफ्ट एक्सेल अन्यन्तै लोकप्रिय स्प्रेडसिट Software हो । यो Software system भएका कम्प्युटरमा Microsoft Office Package राखेपछि प्रयोग गर्न सकिन्छ । यस प्रोग्राममा कम्प्युटरमा हिसाब गर्न नम्बर डाटाहरूलाई प्रशोधन गर्न सजिलो हुन्छ । यस प्रोग्राममा बनेका फाइलहरूलाई Workbook भनिन्छ । यसका फाइलको Extension को नाम .XLSX हुन्छ। MS.Excel 2003, MS.Excel 2007, र MS.EXcel 2010 लोकप्रिय भर्सन हुन् ।
Ms.Excel सुरु गर्नका लागि निम्नलिखित कुराहरू गर्नुपर्छ :
👉 चरण १: Start buttom मा Click गर्ने
👉 चरण २: All Program menuमा Click गर्ने
👉 चरण ३: Microsoft Officeमा click गर्ने
👉 चरण ४: Microsoft Office Excelमा click गर्ने
यी चार चरणहरू गरिसकेपछि MS Excel program खुल्छ । यस Software बाट विभिन्न गणितीय कार्य गर्न सकिन्छ।
MS Powerpoint 2019 Powerpoint कसरी खोल्ने?
👉 Window interface मा Window मा गइसकेपछि Slide भनिन्छ Word processing, Microsoft Word मा जस्तै कार्य Slide हरूमा गर्न सकिन्छ।
Microsoft Office Package install गर्नुपर्छ।
👉 चरण १: Window र Right click गर्न र Power point मा क्लिक गर्ने। Start screen हुन्छ।
👉 चरण २ : Blank presentation वा Theme हरू प्रयोग गर्न सकिन्छ।
👉 चरण ३ : Double tab add title आउँछ । जहाँ आफ्नो Title गर्ने र Slide हरूमा आफूलाई चाहिएका कुराहरू टाइप गर्ने।
👉चरण ४ : नयाँ Slide लाई सेभ गर्ने । सबैभन्दा माथि बायाँतर्फ रहेको File tab क्लिक गर्नुहोस् । त्यसपछि Save वा Save as मा क्लिक गर्नुहोस् । त्यसपछि Thic PC मा क्लिक गर्ने र आफ्नो कम्प्युटरभित्रको उपयुक्त ड्राइभ वा Desktop मा क्लिक गर्नुहोस् । अब आफूलाई चाहिएको Window खुल्छ । जसमा Power point क्लिक गरी Slide भित्र विभिन्न क्रियाकलाप गर्न सकिन्छ। यसलाई Microsoft Word, Excel अनुसार नै चलाउन सकिन्छ।
अभ्यास
(क) कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस्।
उत्तर👉 नेपालमा सन् १९७२ वि.सं. २०२८ मा पहिलोपटक जनगणनाको तथ्याङ्क प्रशोधनका लागि IMB 1401 main frame कम्प्युटरको प्रयोग गरिएता पनि सूचना तथा सञ्चार प्रविधिको द्रुत विकास भने १९९० वि.सं. २०४६ मा प्रजातन्त्रको पुनर्स्थापना पछि मात्र भएको पाइन्छ । हाल नेपालमा सामान्य कुराकानी गर्न, अनलाइन तथा Virtual Class सञ्चालन गर्न, हिसाब किताब राख्नदेखि बिरामीको उपचार गर्न समेत सूचना तथा सञ्चार प्रविधिको प्रयोग भइरहेको छ।
कम्प्युटर प्रयोग भइरहेका दुईवटा क्षेत्रहरूमा सूचना तथा सञ्चार क्षेत्र, शिक्षा, स्वास्थ्य लगायत बैकिङ्ग क्षेत्र छन्।
(ख) डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?
उत्तर👉 सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सुचना प्राप्त गर्न, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने, सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ । प्रा. हिलर स्पाईस (Hiller Spires) का अनुसार डिजिटल साक्षरताका तीन पक्षहरू हुन्छन् :
(क) डिजिटल सामग्री प्राप्त र उपयोग गर्ने
(ख) डिजिटल सामग्री सिर्जना गर्ने
(ग) डिजिटल सामग्री सञ्चार वा वितरण गर्ने
अर्थात् E-mail, Internet वा सामाजिक सञ्जालको प्रयोग गरी जीवनका हरेक क्षेत्रका ज्ञान, सिप हासिल गर्नु, विभिन्न जानकारी प्राप्त गर्नु र आफूले सिर्जना गरेका सामग्रीहरू सूचना प्रविधि मार्फत वितरण गर्ने प्रक्रियालाई डिजिटल साक्षरता भनिन्छ।
(ग) सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?
उत्तर👉 सूचना प्रविधि भन्नाले ध्वनी, तस्वीर, अक्षर तथा अङ्कको रूपमा सुचनाहरूलाई विद्युतीय यन्त्रहरू कम्प्युटर तथा दूरसञ्चार प्रविधिको (E-mail, Internet) को प्रयोग गरी भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाह गर्ने प्रविधिलाई बुझिन्छ। सूचना प्रविधि धेरै देशका आर्थिक विकासको एक प्रमुख तत्त्व एवम् आधार भएको छ।
सूचना प्रविधिहरूको सहयोगले इमेलहरू, आवश्यक भिडियो कलहरू छिटो, सस्तो र अधिक कुशल भएको छ। विद्युतीय यन्त्रहरू, ल्यापटप, कम्प्युटर, मोवाइल, ट्याबलेट, Ipad, Cellular phone आदि यन्त्रले यस्तो प्रविधिलाई तुरुन्तै प्रसारण र ग्रहण गर्दछन् वा छिटो छिटो सञ्चार गर्दछन् । नेपालमा सूचना प्रविधिको द्रुत गतिमा विस्तार भइरहेको छ।
(घ) कम्प्युटर हार्डवेयरलाई उदाहरणसहित वर्गीकरण गर्नुहोस्।
उत्तरः 👉 कम्प्युटर सिस्टम भनेको यसका हार्डयर र सफ्टवेयरको संयुक्त रूप हो। हार्डवयरमा भौतिक पार्टपूर्जा यन्त्र पर्दछन् भने सफ्टवयरमा कम्प्युटर भित्रका प्रोग्रामहरू टाइपिङ्ग, डकुमेन्टेशन, MS Excel, Word, Powerpoint, Filing, Searching, Storing जस्ता Programme पर्दछन्। विद्युतीय शक्तिबाट चल्ने मोनिटर, प्रोसेसर, माउस, किबोर्ड, प्रिन्टर जस्ता विभिन्न भौतिक यन्त्रहरू हार्डवेयर हुन् भने ती यन्त्रहरूलाई सञ्चालन गर्न कम्प्युटरले बुझ्ने भाषामा तयार गरिएको निर्देशनको प्याकेज सफ्टवयर हो।
सामान्यतया एउट कम्प्युटर बन्नका लागि कम्तिमा चार ओटा हार्डवेयर उपकरण आवश्यक हुन्छन् । तिनीहरू Central Processing Unit (CPU), Monitor, Keyboard, Mouse हुन् । यद्यपि ल्यापटप, नोटबुक, स्मार्टफोन जस्ता कम्प्युटरमा यी चार लगायत अन्य हार्डवयरलाई एउटै उपकरणमा एकीकृत गरिएको हुन्छ । हार्डवेयरलाई Input, Output, Processing, Output र Storage device गरी चार भागमा वर्गीकरण गरिन्छ।
👉 इन्पुट उपकरण : कम्प्युटरमा कुनै तथ्याङ्क वा निर्देशन प्रविष्ट गराउन प्रयोग हुने उपकरणलाई इन्पुट उपकरण भनिन्छ जस्तै : माउस, किबोर्ड, क्यामेरा, माइक्रोफोन आदि।
👉 प्रशोधन उपकरण : कम्प्युटरमा प्रविष्ट भएका कुनै तथ्याङ्कलाई निर्देशन अनुसार गणना वा प्रशोधन गर्न प्रयोग गर्ने उपकरणहरूलाई प्रशोधन उपकरण भनिन्छ। जस्तै : Central Processing Unit (CPU).
👉 आउटपुट उपकरण : कम्प्युटरमा भएका कुनै तथ्याङ्क वा सूचनालाई देखाउन प्रयोग हुने उपकरणहरूलाई आउटपुट उपकरण भनिन्छ। मोनिटर, प्रोजेक्टर, स्पिकर, प्रिन्टर आदि आउटपुट उपकरण हुन् ।
👉 भण्डारण उपकरण : कम्प्युटरमा भएका कुनै तथ्याङ्क वा सूचनालाई लामो समयसम्म सुरक्षित राखी आवश्यक परेको समयमा पुनः प्रयोग गर्ने, उपलब्ध गराउने, उपकरणलाई भण्डारण उपकरण भनिन्छ। सिडी, डिभिडी, हार्डडिस्क, पेन्ड्राइभ, मेमोरी कार्ड, Ram, मदरबोर्ड आदि भण्डारण उपकरण हुन् ।
(ङ) ‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर👉 कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ । कम्प्युटरले अत्यन्तै द्रुत गतिमा त्रुटिरहित रूपले लामो समयसम्म लगातार काम गर्न सक्छ । यसको आविष्कार गणना गर्ने यन्त्रका रूपमा भए पनि वर्तमान समयमा चिठीपत्र लगायत, विभिन्न कागजात तयार गर्न, बैंक, बिमा, उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा लगायत विभिन्न संस्थाहरूका हरहिसाब व्यवस्थित रूपले राख्न, घरायसी कार्यहरू गर्न, रेडियो टेलिभिजन प्रशारण गर्न, गीत सुन्न, खेलहरू खेल्न, विभिन्न शैक्षिक ज्ञान हासिल गर्न, चिकित्सकीय सेवा लिन लगायत थुप्रै कार्यहरूका लागि गरिन्छ। यसबाहेक आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले आफै काम गर्न सक्ने, प्राकृतिक भाषा बुझ्ने, परिस्थिति अनुसार निर्णय गर्ने, मानिसको पहिचान गर्ने सम्मका क्षमता भएका कम्प्युटरको पनि विकास भइसकेकाले यसको प्रयोग विश्वव्यापी छ।
इमेलबाट उद्योग, व्यापार, व्यवसाय, समान खरिद बिक्री, स्वास्थ्य सेवा, सञ्चार र सूचना, अर्थ वाणिज्य, प्रकृति र वातावरण लगायतका थुप्रै विषयवसतुको जानकारी प्राप्त हुने हुँदा हरेक व्यक्तिको अनिवार्य साधन कम्प्युटर हुन पुगेको छ। हामीले प्रयोग गर्ने मोबाइल फोनहरू पनि मिनि कम्प्युटरकै रूपमा लिन सकिन्छ।
(च) Microsoft Word मा के के काम गर्न सकिन्छ, उदाहरणसहित लेख्नुहोस्।
उत्तर👉 माइक्रोसफ्ट वर्ड एक सर्वव्यापी र सबैभन्दा लोकप्रिय एप्लिकेशन प्रोग्राम हो । प्रयोग कर्ताले चलाउन सजिलो हुने र सम्पूर्ण विशेषताले भरिपूर्ण यो एप्लिकेशनमा देहाय बमोजिम कार्य गर्न सकिन्छ :
👉 माइक्रोसफ्ट वर्डमा टाइप गरी कागजात निर्माण गर्ने, प्रशोधन गर्ने।
👉 कागजातलाई सुरक्षित रूपमा भविष्यको प्रयोगको लागि सञ्जय गर्ने ।
👉कागजातलाई प्रिन्ट गर्ने।
👉 अक्षर, अङ्क, संकेत, चित्र वा ग्राफिक्सलाई प्रविष्ट गर्ने ।
👉टेवल, वृत्तचित्र, स्तम्भ चित्र, चार्ट बनाउने।
👉 पासवर्डको प्रयोग गरी फाइललाई सुरक्षित बनाउन सकिने।
👉मेल मर्ज सुविधाले एकैपटक धेरैलाई मेलपत्रहरू बनाउन सकिने।
👉 कागजको साइज, मर्जिन गरेर आकर्षक बनाउन सकिने।
👉 बैंक तथा वित्तीय संस्थाहरूमा चिठीपत्र लेख्ने, कागजका फाइलहरू तयार गर्ने, टिप्पणी लेख्ने, प्रतिवेदन तयार गर्ने साथै ग्राहकका सूचना संग्रह गर्ने कार्य गर्न सकिन्छ।
माइक्रोसफ्ट वर्डमा अक्षरहरूको Type, Save, Copy, Paste, Find, Replace, Format, Print, Insert, Header, Footer, Auto Correct, Hypemate आदि कार्य हुन्छ।
पाठ २- सञ्चार एप्लिकेसनहरूको प्रयोग
सारांश
कम्प्युरटरमा राखिएका विभिन्न सफ्टवयरलाई एप्लिकेसन भनिन्छ । यस्ता एप्लिकेसनहरूले विभिन्न कामहरू गर्दछन् । इन्टरनेट र कम्प्युटरबीच सञ्चार सम्बन्ध स्थापना गर्ने सफ्टवेयरलाई वेबब्राउजर भनिन्छ । जस्तै : Google chrome, Opera, Mozilla Firefox आदि।
विद्युतीय हुलाकलाई (Electronic mail) लाई छोटकरीमा इमेल भनिन्छ। यसले इन्टरनेट मार्फत् पत्राचार गर्छ । इमेलबाट पत्राचार गर्न इमेल एकाउन्ट खोल्नुपर्छ। Yahoo, Gmail, Hotmail आदि इमेल सेवा प्रदायक साधन हुन् । यस्तामा पत्राचार छिटो र सजिलो हुन्छ। पत्राचार सुरक्षित पनि रहन्छ। इन्टरनेटको विकाससँगै यसमा इच्छुक व्यक्तिहरू जोडिन, मिल्ने समूहहरू सञ्चालनको क्रम सुरु भयो । यस्ता समूहले ठूलो रूप लियो । हाल यस्ता समूहलाई सामाजिक सञ्जाल भनिन्छ । जस्तै : Facebook, Twitter, Instagram, youtube, TikTok आदि। यस्ता सञ्चारमाध्यमबाट सामुहिक कुराकानी गर्न सकिन्छ।
क्रियाकलाप
१. सबैले आआफ्नो इमेल खाता खोल्नुहोस् र सामाजिक सञ्जालका फाइदा र बेफाइदा उल्लेख गर्दै साथीलाई इमेल पठाउनुहोस्।
उत्तर👉 विद्युतीय हुलाक (Electronic mail) को छोटकरी रूप इमेल हो । यसले परम्परागत हुलाकबाट हुने पत्राचारको सट्टा इन्टरनेट मार्फत् पत्राचार गर्ने कार्य गर्दछ । इमेलबाट पत्राचार गर्न इमेल एकाउन्ट खोलिएको हुनुपर्छ । जिमेल (Gmail), हटमेल (Hotmail), याहु (Yahoo) आदि जस्ता सेवा प्रदायक मध्ये कुनै एकमा एकाउन्ट खोल्न सकिन्छ। हामीले इमेल पठाउन र प्राप्त गर्न इमेल एकाउन्ट खोल्नु पर्छ।
जिमेल (gmail) खाता खोल्ने तरिका:
👉 कुनै पनि ब्राउजर खोलेर Address bar मा टाइप गर्ने Window देखिन्छ।
👉 Create account मा क्लिक गर्ने। अर्को Window खुल्छ।
👉 आफ्नो नाम भर्ने, User name मा आफ्नो नामसँग मिल्ने नाम भर्ने । जबसम्म Available देखाउँदैन तबसम्म नामको पछाडि सङ्ख्या परिवर्तन गर्दै जाने।
👉 पासवर्डमा सामान्यतया ८ अक्षर (character) राख्नुपर्दछ । पासवर्ड बनाउन सकभर Capital letter, Small letter, सङ्ख्या र सङ्केत प्रयोग गर्ने, जस्तै : Gautam 1891 पासवर्ड सजिलै अनुमान गर्न सकिने राख्दा ह्याक हुने सम्भावना हुने भएकाले कसैले अनुमान गर्न नसकिने पासवर्ड राख्नुपर्छ।
👉 त्यसपछि ‘Next‘ मा क्लिक गर्ने ।
👉 अर्को Window मा आफ्नो फोन नं. टाइप गर्ने / फेरि ‘Next‘ मा click गर्ने । मोबाइल फोनमा ६ अङ्कको कोड नं. भएको सन्देश आउँछ।
👉 फोनको म्यासेजमा आएको प्रमाणीकरण सङ्केत (Verification Code) नं. कम्प्युटरमा टाइप गर्ने र Verify मा क्लिक गर्ने
👉 Google Privacy and Terms खुल्छ। I agree मा क्लिक गर्ने।
👉 अब gmail खाता तयार भयो । तपाईंको Inbox मा Welcome Message आउँछ।
Gmail खातामा Sign in गर्ने तरिका:
👉 कुनै पनि ब्राउजर खोलेर Address Bar मा www.gmail.com टाइप गर्ने
👉 यस्तो Window देखिन्छ। त्यसमा आफ्नो पूरा email address टाइप गर्ने, जस्तै : abc@gmail.com
👉 अब ‘Next‘ मा क्लिक गर्ने, अर्को Window खुल्छ।
👉 त्यसमा पासवर्ड टाइप गर्ने, अर्को Window खुल्छ।
👉 Gmail account sign in भयो।
Gmail खाताबाट email पठाउने तरिका:
👉 कुनै पनि ब्राउजरमा Gmail मा साइन इन गर्ने । यस्तो Window देखिन्छ। प्लस चिह्न वा Compose मा क्लिक गर्ने ।
👉 त्यसपछि अर्को Window खुल्छ। सबैभन्दा माथिको बाकसमा पाउने व्यक्ति वा संस्थाको इमेल ठेगाना टाइप गर्ने
👉 दोस्रो बाकसमा इमेलको विषय टाइप गर्ने
👉 त्यस तलको खाली ठाउँमा आफ्नो सन्देश टाइप गर्ने (आवश्यकताअनुसारका सामान्य चिठीकै ढाँचामा टाइप गर्न सकिन्छ।) यहाँ सामाजिक सञ्जालका फाइदा बेफाइदा टाइप गर्ने।
जस्तै : सामाजिक सञ्जालका फाइदाहरू
(क) निःशुल्क रूपमा व्यक्तिगत र सामूहिक कुराकानी गर्न सकिन्छ ।
(ख) विश्वव्यापी पहुँच भएकाले विश्वभर सञ्चार सम्बन्ध राख्न सकिन्छ ।
(ग) तत्काल निःशुल्क रूपमा समाचार र सूचना सम्प्रेषण गर्न सकिन्छ ।
(घ) व्यापारका लागि बजार प्रवर्धनमा ठूलो सहयोग पुग्छ ।
(ङ) सामाजिक तथा राजनीतिक सचेतना गराउन सहज हुन्छ ।
(च) विचार अदान प्रदान र सहकार्य गर्न सहज हुन्छ ।
(छ) सामाजिक तथा राजनीतिक दबाब दिन सकिन्छ ।
सामाजिक सञ्जालका बेफाइदाहरू
(क) सामाजिक सञ्जालको कुलत लाग्न सक्छ ।
(ख) मानसिक रोग लाग्न सक्छ ।
(ग) धोकेवाज र अपराधिक प्रकृतिका मानिसलाई सहज हुन्छ ।
(घ) गलत सूचना प्रवाह भई व्यक्तिको प्रतिष्ठामा आँच आउने तथा समाजमा आतङ्क फैलिन सक्छ ।
(ङ) डर, त्रास र धम्की दिएर शारीरिक, मानसिक वा अन्य शोषण हुन सक्छ ।
(च) गोप्य सूचना ह्याकिङ हुन सक्छ ।
(छ) व्यक्तिको आनीबानी पत्ता लगाई फाइदा उठाउन सक्छ ।
👉 यति टाइप गरिसकेपछि फाइल सेभ गरी Send बटनको दायाँपट्टि क्लिक चिन्हमा क्लिक गर्ने नयाँ Window मा आफ्नो फाइना Attach गर्ने ।
👉 यो Draft इमेल सेभ भइसकेको हुन्छ । अब Draft खोली Send गर्ने ।
👉 अन्त्यमा ‘Send‘ बटनमा क्लिक गर्नुपर्छ। Sent भएको सन्देश देखाउँछ। कुनै कारणले इमेल डेलिभरी हुन नसकेमा Inbox मा इमेल आउँछ। प्रायः पाउनेको इमेल ठेगाना नमिलेमा डेलिभरी नभएको सन्देश आउँछ ।
Gmail बाहेक Hotmail, Yahoo मा पनि इमेल खाता खोली इमेल पठाउन सकिन्छ।
यसरी आफ्ना सम्पूर्ण साथीहरूलाई इमेल मार्फत् सामाजिक सञ्जालका फाइदा बेफाइदाहरू लेखी इमेल गर्नुहोस् ।
२. सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धमा एउटा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुहोस्।
उत्तर👉 सामाजिक सञ्जालको अधिक प्रयोगबाट स-साना बालबालिकाको पढाइस्तर खस्कँदै गएको छ । त्यसैले यहाँ एक विद्यालयका प्रिन्सिपल, विद्यार्थी र अभिभावक बिचमा सामाजिक सञ्जालको सुरक्षित प्रयोगका सम्बन्धमा एउटा अन्तरक्रिया कार्यक्रमको नमुना तयार पारिएको छ।
अन्तरक्रियाको विषयवस्तु :
विद्यार्थीहको सामाजिक सञ्जालमा सुरक्षित पहुँच र प्रयोग
उद्देश्य 👉 यस अन्तरक्रिया कार्यक्रमबाट विद्यार्थीहरूले सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने भन्नेमा सुसूचित हुनेछन् । अभिभावकले आफ्ना बाबु नानीहरूलाई सुरक्षित तरिकाले उपयुक्त विषयवस्तुको लागि सामाजिक सञ्जाल प्रयोग गर्न दिनेछन् भने प्रिन्सिपलले आफ्ना विद्यार्थीहरूलाई कसरी सामाजिक सञ्जाल प्रयोग गरेमा सिकाइ उपलब्धि हुन्छ ? भन्ने विषयमा जानकारी दिनेछन्।
अन्तरक्रियामा छलफल
प्रिन्सिपल👉 सर्वप्रथम म यहाँ उपस्थित सबैजनामा हार्दिक नमस्कार भन्छु र विषयवस्तुको बारेमा सामान्य जानकारी, परिचय र उद्देश्य बताउछु । आजको विषय बढ्दो सामाजिक सञ्जालको प्रयोगले विद्यार्थीको पढाइ खस्कँदै गएको छ । उनीहरू राति अबेरसम्म फेसबुक, ट्युटर, youtube मा Free-fire, PGBG जस्ता Game खेलेर समय बर्बाद गर्ने गरेको । विद्यालयमा टाउको दुख्यो, आँखा पोल्यो भन्ने जस्ता अभिव्यक्ति दिने गरेको र गृहकार्य र अध्ययनप्रति कम रूची दिने, पढाइमा ध्यान नदिने भएकाले म यहाँहरू समक्ष कसरी यस सामाजिक सञ्जालको दुरुपयोगबाट छुटकारा मिल्छ भन्ने विषयमा अन्तरक्रिया गर्न गइरहेको छु । सर्वप्रथम विद्यार्थी भाइबहिनीहरूलाई आफूले प्रयोग गर्ने सामाजिक सञ्जाल र कुन विषयवस्तु बढी ध्यान दिने गर्नुहुन्छ भन्ने विषयका सम्बन्धमा जानकारी लिन चाहन्छु।
विद्यार्थी 👉हामी बढीजसो Facebook मा Chating गछौँ । टिकटक हेछौँ । र फुर्सदमा Free-fire र Pub G मा साथीसँग गेम खेल्छौँ । कहिलेकाहीँ असजिला गृहकार्यका प्रश्नहरू सर्च गर्दछौ । बढी समय पढ्न र गृहकार्य गर्न मै बिताउँछौँ ।
अभिभावक-१ 👉 हो, आजभोलि बालबालिका रिसाउने, झर्किने र आफूले सबै गृहकार्य गरिसकेको, अनलाइन क्लास सञ्चालन भएको भन्ने कुरा बताइरहेका हुन्छन् । एकदिन मोबाइल, ल्यापटप वा कम्प्युटर अगाडि नपाएमा छटपटि हुने, परिस्थिति सर्जना भएको छ । त्यसैले विद्यालयले अलि सम्झाइबुझाइ . गरिदिनु पर्यो।
अभिभावक – २👉 हाम्री नानीले पाठ्य सामग्री मात्र सर्च गरेको बताउछिन् । कहिलेकाहीँ Facebook र टिकटक हेर्छिन्।
अभिभावक – ३ 👉 अहिले सामाजिक सञ्जालको प्रयोगले बढी चोरी, ठगी, झुटो र ID को माध्यमबाट हुने बलात्कार र कुलतको सिकार हुने प्रक्रिया बढेको छ । त्यसैले हामी सबै सामाजिक सञ्जालको समुचित प्रयोगका लागि चनाखो हुनुपर्ने देखिन्छ।
विद्यार्थी 👉 ठिक भन्नु भयो । तर अरू साथीहरूले च्याटिङको लागि Game खेल्न प्रेरित गरिरहन्छन् र Message पढाउँछन्।
प्रिन्सिपल 👉 विद्यार्थी र अभिभावकका कुरा सुन्दा हामी के निष्कर्षमा पुग्छौँ भने विद्यार्थीहरूले बढी चासो इन्टरनेट मार्फत् सामाजिक सञ्जालमा रहने गरेको बुझिन आउँछ । अभिभावकहरूले आफ्ना बालबालिकालाई काबुमा राख्न कठिन भएको र शिक्षकहरूले सिकाइ उपलब्धि हासिल गराउन नसकेको प्रष्टै छ। त्यसैले नेपालमा Facebook, Twitter, Instagram, Youtube, Tik Tok जस्ता सामाजिक सञ्जालले विद्यार्थीमा नकारात्मक प्रभाव पार्दै गएका छन् । यसको समुचित प्रयोगको लागि, बालबालिकाले पढाइ सम्बन्धी सामग्री कतिको खोजी गरेका छन् । राति अबेरसम्म के के कुराहरू हेर्छन्, खोज्छन् भन्ने कुरामा ध्यान दिनु पर्यो। विद्यालयले पढाइका विषयवस्तु र जीवनोपयोगी सामग्रीहरू खोज्न र हेर्न प्रेरणा दिनु पयो। विद्यार्थीहरू आफ्नो उज्वल भविष्यप्रति चिन्तित हुनु पर्यो।
निष्कर्ष : हामी सबैले सामाजिक सञ्जालका फाइदा बेफाइदा अध्ययन गरी जिवनोपयोगी कार्यमा त्यसको प्रयोग गरौं । बालबालिकाका सुत्ने कोठाबाट मोवाइल, ल्यापटक, कम्प्युटर टाढा राखौँ । बालबालिकाको समय समयमा निगरानी राखौँ । उमेर नपुगी Facebook-ID खोल्न नदिउँ । आवश्यक पाठ्य सामग्री अध्ययनमा ध्यान दिउँ। यही प्रण गर्दै आजको अन्तरक्रिया अन्त्य गर्दछु । सबैलाई नमस्कार । धन्यवाद ।
अभ्यास
(क) ब्राउजर भनेको के हो, उदाहरण दिएर प्रस्ट पार्नुहोस्।
उत्तर👉 कम्प्युटरमा Installed गरिने विभिन्न सफ्टवेयरहरूलाई Application भनिन्छ। www (World Wide Web) मा सूचनाको पहुँच स्थापना हुन्छ। यस्ता Application हरूले विभिन्न कार्यहरू गर्दछन् । कम्प्युटर र इन्टरनेट बिच सञ्चार सम्बन्ध स्थापना गर्ने Wave Software लाई Wave Browser भनिन्छ । जस्तैः Google Chrome, Opera, Mozilla Firefox आदि । Microsoft windows भएको कम्प्युटरमा Microsoft Edge 7991 Apple iMac Computer HT Safari yfect Browser installed हुन्छ। Mozilla firefox, Microsoft edge र Safari चाहिँ Default browser हुन् । अन्य Browser हरू पछि स्थापना गर्न सकिन्छ । कुनै पनि ब्राउजरबाट इन्टरनेट चलाउनका लागि कम्प्युटरमा इन्टरनेट जोडिएको हुनु पर्दछ। सबैभन्दा बढी प्रयोग भएको Browser Google Chrome हो। Wave browser को उद्देश्य नै Wave बाट सूचना ग्रहण गरी प्रयोग कर्ताको डिभाइसमा देखाउनु हो। उदाहरणको रूपमा अब हामी Google Chrome बाट कसरी इन्टरनेट चलाउने भन्ने बारेमा उल्लेख गछौं।
👉 (क) Google Chrome खोल्ने त्यसपछि Address bar मा आफूलाई चाहिएको Web-address टाइपन गर्ने, Enter key थिने।
👉 (ख) Web address थाहा नभएम खोजी गर्नका लागि Key-word type गर्ने Enter key थिच्ने। त्यसपछि देखिएका तिजाहरू मध्ये आफूले चाहेको नाममा क्लिक गर्ने।
👉(ग) अब हामीले चाहेको Website खुल्छ । त्यसपछि आफूलाई चाहिएको सूचना लिन सकिन्छ । त्यसैगरी Facebook, Yahoo र Gmail जस्ता Website मा जोडिएर आवश्यक कार्य गर्न सकिन्छ। Browser ले कुनै Website को सूचना सङ्कलन गरी प्रयोगकर्तालाई प्रदर्शन गर्दछ । जब प्रयोग कर्ताले URL (Uniform Resource Locator मा Input गर्दछ ।) जस्तो यहाँ http: को अर्थ ब्राउजरले HTTP (Hypertext Transfer Protocol) बाट सूचना प्राप्ति गर्दछ र प्रयोगकर्तालाई उपलब्ध गराउँछ । Browser र Web server बिचको सञ्चार सुरक्षा वैयक्तिकसँगको एउटा प्रक्रिया हुन्छ अर्थात् सुरक्षित हुन्छ।
(ख) इमेल भनेको के हो ?
उत्तर👉 विद्युतीय हुलाक (Electronic mail) को छोटकरी रूप इमेल हो । यसले परम्परागत हुलाकबाट हुने पत्राचारको एउटा इन्टरनेट मात् पत्राचार गर्ने कार्य गर्दछ । email बाट पत्राचार गर्न इमेल एकाउन्ट खोलिएको हुनुपर्छ । याहु (Yahoo), जिमेल (Gmail), हटमेल (Hotmail) आदि जस्ता सेवा प्रदायक (email service provider) मध्ये कुनै एकमा Account खोल्न सकिन्छ र इमेल पठाउने प्राप्त गर्ने कार्य गर्न सकिन्छ। इमेल सेवामा संवाद वा सूचनालाई स्वीकार गर्ने अगाडि बढाउने, पठाउने र भण्डारण गर्ने कार्य गरिन्छ । इन्टरनेट इमेलहरू Multipurpose, Internet Mail Extension (MIME) बाट प्रशारण गरिन्छ। इमेल सेवाका प्रकारहरू निम्न बमोजिम छन् :
👉 Web based email ((AOL/mail,G-mail, Outlook.comर Yahoo mail)
👉 POP3 Mail Servers (Post Office Protocol-3)
👉IMAP mail-server (International Message Access Protocol)
👉MAPI (Messaging Application Programming Access Protocol)
👉MAPI ले उनीहरूको उत्पादन विधि हेर्न सक्ने गरी सहयोग गर्दछ।
(ग) इमेलमा फाइल Attach गर्ने तरिका लेख्नुहोस्।
उत्तरःकुनै इमेल पठाउन अन्य कुनै डकुमेन्ट Attach गर्नुपर्ने भएमा तल Send button को दायाँपट्टि क्लिप चिन्हमा क्लिक गर्ने नयाँ Window मा आफ्नो फाइल Attach गर्ने । Email को विषय Enter गर्ने, Email को Message send गर्नुपूर्व विषय शीर्षक लेख्ने, Message को Body लाई Attach गर्ने, email मा देखिएको Attachment वा क्लिप वटनमा Click गरी Message file open गर्ने र Message पठाउने कार्य पूरा गर्ने । Message attach गरिसकेपछि Message प्राप्त गर्नेको e-mail address मा पुनः सही छ कि छैन भनी Recheck गर्ने र Send button मा Click गर्ने ।
पाठ ३- अनलाइन भुक्तानी
सारांश
विद्युतीय उपकरण प्रयोग गरी आफ्नो बैङ्क खाताबाट अरू कसैको बैङ्क खातामा रकमान्तर गर्ने प्रक्रिया अनलाइन भुक्तानी हो।
अनलाइन भुक्तानीका फाइदाहरू
👉 व्यक्तिले आफैं पेमेन्ट गर्ने भएकाले जनशक्तिमा लाग्ने खर्च कटौती हुन्छ।
👉 विभिन्न बिल तिर्न समय खर्च गर्नु र लाइनमा बस्नु पर्दैन।
👉 अनलाइनबाट सामान र सेवा किन्न तथा बेच्न सहज हुन्छ।
👉 छिटो, छरितो र विश्वसनीय रूपमा रकमान्तर गर्न सकिन्छ।
👉 नगद बोक्नु वा घरमा राख्नुनपर्ने भएकाले चोरीको डर हुँदैन।
👉 नगदरहित कारोबार हुने भएकाले देशको नोटको आयु बढ्न गई बचत हुन्छ।
👉 कारोबारको रेकर्ड स्वतः रहने भएकाले व्यक्ति, संस्था र सरकारलाई हिसाब राख्न सजिलो हुन्छ।
अनलाइन भुक्तानीका बेफाइदाहरू
👉 अनलाइन सेवाबापत शुल्क तिर्नुपर्छ।
👉 अफलाइन कारोबारमा काम लाग्दैन।
👉 साइबर अपराधीहरूले ह्याक गरेर रकम दुरुपयोग गर्न सक्छन्।
👉 कहिलेकाहीँ इन्टरनेट वा सर्भर डाउन भएर कारोबार गर्न सकिँदैन।
👉 डिजिटल साक्षरता नभएका व्यक्तिहरूले प्रयोग गर्न सक्दैनन्।
👉 नेपालको सबै ठाउँमा यसको पहुँच नपुगेकाले प्रयोग गर्न सकिँदैन।
अनलाइन भुक्तानीका लागि ध्यान दिनुपर्ने कुराहरू
👉 कुनै पनि सामान वा सेवा अनलाइन खरिद गर्नुअघि इन्टरनेटमा सर्च गरेर त्यस्ता वस्तु वा सेवाबारे जानकारी लिनुपर्छ।
👉 कुनै पनि सामान वा सेवा अनलाइन खरिद गर्दा विश्वसनीय कम्पनीबाट मात्र खरिद गर्नुपर्छ।
👉 कारोबार गर्दा विवरणहरू, पासवर्ड र रकम आफैं टाइप गर्नुपर्छ।
👉 आफ्नै कम्प्युटर वा स्मार्टफोनबाट मात्र कारोबार गर्नुपर्छ। अरूकोबाट कारोबार गर्दा विवरण रेकर्ड भई दुरुपयोग हुन सक्छ।
👉 अनलाइन भुक्तानीका लागि छुट्टै इमेल खाता प्रयोग गर्दा बढी सुरक्षित हुन्छ।
👉 आफ्नो पासवर्ड अति गोप्य राख्नुपर्छ। धेरैओटा पासवर्डहरू लेखेर राख्नुभन्दा password manager प्रयोग गर्दा बढी सुरक्षित हुन्छ।
👉 सार्वजनिक Wi-Fi प्रयोग गर्दा विवरणहरू सेयर हुने भएकाले त्यस्तो Wi-Fiप्रयोग गर्नु हुँदैन।
👉 विश्वसनीय एप मात्र प्रयोग गर्नुपर्छ।
डिजिटल एप्लिकेशनको उपयोगिता
👉 डिजिटल एप्लिकेशनको प्रयोग घर, कार्यालय, यातायातका साधन आदिमा भइरहेको पाइन्छ।
👉 यस्ता डिजिटल एप्लिकेशन प्रयोग गर्दा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ :
👉 डिजिटल एप्लिकेशन घरमा ल्याएपछि त्यसको प्रयोग निर्देशिका (User manual) राम्ररी पढेर मात्र त्यसलाई विद्युत लाइनमा जोड्ने
👉 डिजिटल एप्लिकेशनको प्रयोगबारे घरका सबै सदस्यहरूलाई जानकारी दिने।
👉 साना बालबालिकाहरूलाई डिजिटल लत लाग्ने गरी यस्ता उपकरणहरू चलाउन नदिने।
👉 कार्यालय, यातायात, बैङ्क, अस्पताल आदिमा रहेको डिजिटल उपकरण (Appliance) हरू आफूले चलाउनैपर्ने भए मात्र चलाउने।
👉 यसरी चलाउनुपर्दा त्यहाँ दिइएका निर्देशन पढेर वा त्यस्तो व्यवस्था नभएमा त्यहाँका कर्मचारीहरूलाई सोधेर मात्र चलाउने।
क्रियाकलाप
१. अनलाइन पेमेन्टबाट हुने फाइदा र बेफाइदाहरू समेटेर एक संवाद तयार गर्नुहोस्।
अनलाइन (Online payment) भन्नाले इन्टरनेट र विद्युतीय उपकरण प्रयोग गरी आफ्नो बैंक खाताबाट अरूसैको बैंक खातामा रकमान्तर गर्ने प्रक्रिया बुझिन्छ।
यसबाट बैङ्कमा नगई जुनसुकै ठाउँबाट सामान वा सेवाको बिल तिर्ने तथा मोबाइल, इन्टरनेट, खानेपानी, विद्युत महसुल, स्कुल/कलेजको फि तिर्ने जस्ता कार्य गर्न सकिन्छ।
अनलाइन भुक्तानीका फाइदाहरूः
👉 जनशक्तिमा लाग्ने खर्च कटौती।
👉 लाइनमा बस्नु नपर्ने।
👉 सामान र सेवा सजिलै किन्न र बेचना सकिने।
👉 छिटो र छरितो कारोबार।
👉 चोरीको डर नहुने।
👉 नोटको आयु बढ्ने।
👉 रिकर्ड राख्न सजिलो हुने।
अनलाइन भुक्तानीका बेफाइदाहरूः
👉 शुल्क तिर्नुपर्ने।
👉 इन्टरनेट नभए कारोबार नहुने।
👉 साइबर अपराधको जोखिम।
👉 डिजिटल साक्षरता आवश्यक।
👉 देशका सबै ठाउँमा पहुँच नहुनु।
२. अनलाइन भुक्तानीका चुनौतिहरूको सूची तयार पार्नुहोस्।
👉 अनलाइन सेवाबापत शुल्क तिर्नुपर्छ।
👉 अफलाइन कारोबारमा काम लाग्दैन।
👉 साइबर अपराधीहरूले ह्याक गरेर रकम दुरुपयोग गर्न सक्छन्।
👉 इन्टरनेट वा सर्भर डाउन हुँदा कारोबार गर्न सकिँदैन।
👉 डिजिटल साक्षरता नभएका व्यक्तिहरूले प्रयोग गर्न सक्दैनन्।
👉 नेपालको सबै ठाउँमा पहुँच नभएकाले प्रयोग गर्न सकिँदैन।
३. अनलाइन एप्लिकेसनबाट शुल्क तिर्ने प्रक्रिया
👉 मैले सुरुमा मोबाइलको Play Store मा गई आफ्नो खाता भएको कुनै बैङ्कको मोबाइल एप download गरें।
👉 एप download भएपछि Activate Service मा क्लिक गरें।
👉 त्यसपछि आफ्नो मोबाइल र खाता नम्बर राखी Next गरें।
👉 आफ्नो मोबाइलमा आएको OTP (One Time Password) को प्रतीक्षा गरें।
👉 OTP प्राप्त भएपछि खाता valid गरें।
👉 त्यसपछि Login Password सेटअप गरें।
👉 Transaction PIN सेटअप गरी Finish गरें।
👉 अब मोबाइल एपको प्रयोग गरी विद्यालयका बिलहरूको भुक्तानी गरें।
निष्कर्ष: डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ। कम्प्युटर र इन्टरनेटको विकाससँगै अहिले घर, कार्यालय, अस्पताल, यातायात, शैक्षिक संस्था, राजस्व, बैङ्क आदि क्षेत्रमा डिजिटल उपकरणहरूको प्रयोग उल्लेखनीय रूपमा बढेको छ।
👉 स्मार्ट टेलिभिजन, वाइफाइ, माइक्रोओभन, लुगाधुने मेसिन, डिजिटल कुकर, एअर कण्डिसन, डिजिटल हाजिरी जस्ता एप्लिकेसनहरू घरायसी वा कार्यालयमा प्रयोग भइरहेका छन्
👉 यस्ता उपकरणको प्रयोग गर्दा User Manual पढेर वा जानकार व्यक्तिबाट सोधेर मात्र प्रयोग गर्नुपर्छ।
👉 डिजिटल कारोबारले छिटो, छरितो, भरपर्दो, समयमै र सुरक्षित ढंगले काम गर्न सकिन्छ।
👉 यसरी ई-सभ्यताको युगमा eSewa, email services, र internet जस्ता सेवाहरू दैनिक जीवनका अनिवार्य हिस्सा बनिसकेका छन्।
पाठ ४- इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग
सारांश
वर्ल्डवाइड वेब (world wide web) लाई छोटकरीमा वेब (web) मात्र भनिन्छ। यो सूचना तथा जानकारीहरूको भण्डार हो। यस्तो भण्डारबाट सूचना पाउन सजिलो बनाउनका लागि विभिन्न सर्च इन्जिनहरू (search engines) को विकास भएको छ।
गुगल (Google), याहू (Yahoo), Ask.com, MSN, Bing, About आदि सर्च इन्जिनहरूबाट इन्टरनेटमा राखिएका सूचनाहरू सजिलै खोज्न सकिन्छ।
क्रियाकलाप
(क) सर्च इन्जिनका फाइदाहरू उल्लेख गरी एउटा पोस्टर तयार गर्नुहोस्।
उत्तरः
👉 सर्च इन्जिनहरूबाट इन्टरनेटमा राखिएका विभिन्न सूचनाहरू सजिलै खोज्न सकिन्छ।
👉 अनलाइन विधिबाट इमेल, मोबाइल, एप्स, सामाजिक सञ्जाल, वेबसाइट आदिबाट एकैपटक ठूलो संख्यामा फारम वा सर्वेक्षण पठाउन सकिन्छ।
👉 अध्ययनकर्ताले थोरै जनशक्ति प्रयोग गरेर देश तथा विदेशका धेरै ठाउँबाट सूचना सङ्कलन गर्न सक्छन्।
👉 अनुसन्धान, अध्ययन सामग्री, वैज्ञानिक आविष्कार तथा प्रविधिका जानकारी प्राप्त गर्न सकिन्छ।
👉 हरेक विषयसँग सम्बन्धित सामग्री उपयुक्त साइटहरूमा गई सजिलै प्राप्त गर्न सकिन्छ।
👉 जटिल समस्याहरू सजिलै समाधान गर्न सकिन्छ।
👉 अनलाइन तथ्याङ्कको data cleaning र storage सजिलो हुन्छ।
👉 इन्टरनेट खोज विद्यार्थीहरूका लागि निकै उपयोगी हुन्छ।
(ख) सर्च इन्जिन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू समेटी संवाद तयार गर्नुहोस्।
उत्तरः
👉 चाहिएको सूचनासँग सम्बन्धित मूल शब्द (keyword) पहिचान गर्ने।
👉 उक्त keyword लाई search box मा टाइप गरी Enter थिच्ने।
👉 फोटो खोज्न Images tab, भिडियोका लागि Videos tab प्रयोग गर्ने।
👉 नतिजा आएको पृष्ठ स्क्रोल गरेर हेर्ने।
👉 सूचना भरपर्दो हो कि होइन मूल्याङ्कन गर्ने।
👉 ट्रन्केसन (truncation) को प्रयोग गर्ने — जस्तै: quali टाइप गर्दा qualify, qualification, qualified सबै आउँछ।
👉 खोजीबाट हटाउनुपर्ने शब्दहरूलाई ‘-’ चिह्न प्रयोग गरी हटाउने।
👉 निश्चित वाक्य खोज्न उद्धरण चिह्न “ ” प्रयोग गर्ने।
👉 सूचना नपाएमा keywords परिवर्तन गर्ने।
👉 पर्यायवाची वा सम्बन्धित शब्दहरू राखेर हेर्ने।
👉 आवश्यक परेमा विभिन्न सर्च इन्जिनहरू प्रयोग गर्ने।
(ग) इन्टरनेटमा कुनै एक सर्च इन्जिनको प्रयोग गरी सामग्री खोजी गरी त्यसको प्रयोगबारे छलफल गर्नुहोस्।
उत्तरः
👉 इन्टरनेटबाट सूचना प्राप्त गर्न सर्च इन्जिनको प्रयोग आवश्यक छ।
यसका लागि तलका कुराहरू ध्यान दिनुपर्छ :
१. सर्च इन्जिन फरक-फरक प्रयोग गर्नुहोस् (vary your search engine)
Google, Bing, Yahoo आदि लोकप्रिय सर्च इन्जिन हुन्।
DuckDuckGo, Dogpile, Google Scholar, Wolfram Alpha विशेष डेटा र तथ्याङ्क खोज्न प्रयोग गरिन्छ।
२. उपयुक्त keyword प्रयोग गर्नुहोस्
Keywords त्यस्ता शब्दहरू हुन् जसले इन्टरनेटमा तपाईं खोज्न चाहेको कुरासँग मिल्दो जानकारी देखाउँछ।
उदाहरण: Nilgiri mountain खोज्नका लागि mountain मात्र होइन, Nilgiri mountain नै टाइप गर्नुपर्छ।
३. खोजी सरल बनाउनुहोस् (simplify your search terms)
जति सामान्य शब्दहरू प्रयोग गरिन्छ, त्यति सटीक परिणाम आउँछ।
Prepositions, articles, conjunctions को प्रयोग जाँच गर्दै गर्नुहोस्।
४. उद्धरण चिह्न प्रयोग गर्नुहोस् (use quotation marks)
उदाहरण: “what is the meaning of rabbit in Nepali” टाइप गर्दा सिधै नेपाली अर्थ प्राप्त हुन्छ।
५. अनावश्यक परिणाम हटाउनुहोस् (remove unhelpful marks)
जस्तै: men’s shoes -trainers -boots टाइप गर्दा trainers र boots नभएका परिणाम मात्र देखिन्छ।
६. सर्च अपरेटरहरू प्रयोग गर्नुहोस् (refine using operators)
The file type operator: विशेष फाइल ढाँचामा खोज्न प्रयोग हुन्छ।
उदाहरण: mobile marketing stats filetype:pdf
All in title operator: शीर्षकमै शब्द खोज्न प्रयोग हुन्छ।
उदाहरण: allintitle: mobile usability suggestions
👉 यी विधिहरू अपनाएर इन्टरनेट सर्च इन्जिनमार्फत आवश्यक जानकारी खोजी गर्न सकिन्छ।
(ग) इन्टरनेटमा कुनै एक सर्च इन्जिनको प्रयोग गरी तपाईंलाई आवश्यक पर्ने कुनै एक सामग्री खोजी गर्नुहोस् र त्यस सामग्रीलाई कुन प्रयोजनमा कसरी प्रयोग गर्नुभयो, कक्षामा साथीहरूसँग छलफल समेत गर्नुहोस्।
उत्तरः
👉 इन्टरनेटबाट सूचनाहरू प्राप्त गर्न सर्च इन्जिन (search engine) को प्रयोग गरिन्छ। इन्टरनेटबाट सूचना प्राप्त गर्नका लागि निम्न कुराहरू जान्नुपर्छ :
१. Vary your search engine :
👉 Google, Bing, Yahoo जस्ता लोकप्रिय सर्च इन्जिनहरू धेरैजसो प्रयोग गरिन्छन्।
👉 Google ले धेरै परिणाम दिन्छ भने DuckDuckGo, Dogpile, Google Scholar, Wolfram Alpha तथ्याङ्क र data-based खोजका लागि उपयोगी हुन्छन्।
२. Use specific keywords :
👉 Keywords भनेको त्यस्ता terms हुन्, जुन प्रयोग गरी इन्टरनेटबाट जानकारी खोजिन्छ।
👉 जस्तैः mountain भन्दा Nilgiri mountain लेख्दा सटीक जानकारी प्राप्त हुन्छ।
३. Simplify your search terms :
👉 खोज गर्दा prepositions, articles, conjunctions हटाएर सरल शब्द प्रयोग गर्दा राम्रो परिणाम आउँछ।
४. Use quotation marks :
👉 जस्तैः “what is the meaning of rabbit in Nepali” टाइप गर्दा सिधै अर्थसहितको जानकारी देखिन्छ।
👉 माथि image tab क्लिक गरेमा चित्र पनि देखिन्छ।
५. Remove unhelpful marks :
👉 उदाहरणः men’s shoes -trainers -boots — यसले trainers र boots नभएका नतिजा मात्र देखाउँछ।
६. Refine using search operators :
👉 Search operators (SO) विशेष चिन्हहरू हुन्, जसले खोजलाई अझ सटीक बनाउँछ।
filetype: प्रयोग गरेर विशिष्ट ढाँचाको फाइल खोज्न सकिन्छ।
उदाहरण: mobile marketing stats filetype:pdf
allintitle: शीर्षकमै शब्द खोज्न उपयोगी।
उदाहरण: allintitle: mobile usability suggestions
👉 यी तरिकाहरू अपनाई सर्च इन्जिनबाट आवश्यक सामग्री खोजी गर्न सकिन्छ।
अभ्यास
(क) सर्च इन्जिन भनेको के हो, यसको महत्त्व उल्लेख गर्नुहोस्।
उत्तर👉 वर्ल्डवाइड वेब (world wide web) लाई छोटकरीमा वेब भनिन्छ। यो सूचना तथा जानकारीहरूको भण्डार हो। यस्तो भण्डारबाट जानकारी सजिलै खोज्न सर्च इन्जिनहरू (search engines) को विकास गरिएको हो।
👉 Google, Yahoo, Ask.com, MSN, Bing, About आदि प्रचलित सर्च इन्जिनहरू हुन्। नेपालमा Google सबैभन्दा प्रचलित सर्च इन्जिन हो।
👉 सर्च इन्जिनको प्रयोगले इन्टरनेटमा भएका सूचनाहरू सजिलै प्राप्त गर्न सकिन्छ। यसले वेबसाइटको search box मा टाइप गरिएको विषयका आधारमा सूचना ल्याउँछसर्च इन्जिनबाट :
👉शब्दको अर्थ खोज्न,
👉 राष्ट्रिय/अन्तर्राष्ट्रिय घटना जान्न,
👉धर्म, संस्कृति, दर्शन बुझ्न,
👉 औषधि र स्वास्थ्य सेवा सम्बन्धी जानकारी पाउन,
👉 विभिन्न यन्त्रको कार्यप्रणाली बुझ्न, तथ्याङ्क संकलन र विश्लेषण गर्न सजिलो हुन्छ।
त्यसैले सर्च इन्जिनको मानव जीवनमा गहिरो महत्त्व छ।
(ख) कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषता समेत लेख्नुहोस्।
उत्तरः
👉 दुई सर्च इन्जिनहरू : Google र Yahoo
नेपालमा सबैभन्दा बढी प्रयोग हुने सर्च इन्जिन Google हो भने Yahoo पनि लोकप्रिय सर्च इन्जिन हो।
यिनका विशेषता :
👉 सर्च इन्जिनले keywords पहिचान गरी आवश्यक जानकारी झिक्छ।
👉 यसले web robots को प्रयोग गरी करोडौं web pages मा खोजी गर्छ।
👉 सर्च इन्जिनमार्फत तथ्याङ्क संकलन, भण्डारण, पुनःप्रयोग गर्न सकिन्छ।
सर्च इन्जिनका अन्य विशेषता :
👉 Crawling — सूचना सङ्कलन गर्ने बोटहरू पठाउने प्रक्रिया।
👉 Data mining — सङ्कलित सूचना भण्डारण गर्ने।
👉 Indexing and query processing — सूचना क्रमबद्ध रूपमा मिलाउने।
👉 Strength in number — धेरै स्रोतबाट जानकारी ल्याउने।
👉 Highly relevant — सटीक जानकारी दिने।
👉 Develop a resource — स्रोत तयार पार्ने।
पाठ ५- इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग
सारांश
इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग दुवै हुन सक्छ । सामाजिक सञ्जालको दुरुपयोगले मानिसको प्रतिष्ठामा आँच पुग्छ तथा अपराधिक काम हुन सक्छ। इन्टरनेट र सामाजिक सञ्जालमा गलत सूचना दिनु, ठगी गर्नु, डर त्रास आदि देखाउनु साइबर अपराध हुन् । इन्टरनेट र सामाजिक सञ्जालमा गरिने असल व्यवहारलाई साइवर नैतिकता भनिन्छ । साइबर नैतिकता भन्नाले कम्प्युटर र इन्टरनेटको प्रयोग गर्दा यससम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ। कम्प्युटर र इन्टरनेटको प्रयोग गर्दा प्रयोगकर्ता, प्रोग्रामर, अपरेटर वा अन्य जोसुकैले कम्प्युटर नैतिकताको पालना गर्नुपर्दछ। कम्प्युटर, स्मार्टफोन, ट्याबलेट आदिको प्रयोग गरी सूचना, सफ्टवेयर, वा कुनै पनि व्यक्तिगत वा सामूहिक रेकर्डहरू चोरी गर्नु, बिगारिदिनु वा कम्प्युटर भाइरसको प्रयोग गर्नुहुँदैन । यो एक अन्तर्राष्ट्रिय नियम नै हो।
क्रियाकलाप
(क) आफ्नो वरपर सामाजिक सञ्जाल प्रयोगबाट भएका आपराधिक क्रियाकलाप समेटर विदेश बस्ने दाइ वा दिदीलाई एउट चिठी लेख्नुहोस्।
उत्तर👉 सामाजिक सञ्जालको दुरुपयोगले समाजमा व्यक्तिको मर्यादामा आँच आउनुका साथै कहिले काहीँ गम्भीर आपत्तिका घटनाहरू घट्न सक्छन् । यसबाट व्यक्तिगत, स्थानीय, संस्थागत, राष्ट्रियस्तर र अन्तर्राष्ट्रिय स्तरका भयङ्कर दुर्घटना पनि हुन सक्छन् । यसै विषयमा विदेश बस्ने दाजुलाई लेखिएको चिठी :
मिति : २०७८/१/११
चिसापानी-५, पर्वत
आदरणीय दाजुमा,
सेवा ढोग छ,
हामी यहाँ स-परिवार कुशल मङ्गल छौँ र हजुरको पनि सु-स्वास्थ्यको कामना गर्दछौँ । आजभोलि सबैले हात हातमा मोबाइल लिने, डाटा वा Wifi जडान गरी इन्टरनेटको पहुँचबाट सम्पूर्ण विश्वको खबर एकै छिनमा प्राप्त गर्छन् । फेसबुक, ट्युटर, इन्टाग्राम, टिकटकमा प्रायःजसोको लत बसेको छ । मोवाइल फोनले काम कार्यमा सजिलो बनाए पनि समाजमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन्।
हिजो मात्र नचिनेको मान्छेले पल्तिरकी भाउजुसँग रु. ५०,००० ठगेर लगेछ। मोवाइलमा facebook मार्फत् विदेशमा बस्ने दाजुको साथी रहेछ । उसले हामीसँगै काम गर्ने भन्दै सँगै पार्टी गरेको फोटो र कुराकानी सुनाएछ। अर्को साथीले फोन गरेर मैले पठाएको रु. १,००,००० मध्ये ५०,००० नयन कुमार नाम बताउने मानिसलाई दिनु भनी फोन आएछ। अनि भाउजुले दिनु भएछ। पछि केही समयपछि सुबोध दाइलाई फोन गर्दा आफूले कसैलाई पैसा लिन नपठाएको कुरा जानकारी भएपछि, हामी सबै मिलेर प्रहरीमा उजुरी दिएका छौँ । प्रहरीले साइबर अपराध अन्तर्गत ठगी गर्ने मान्छेलाई खोजिरहेको छ । उता भाउजु चिन्तामा डुब्नु भएको छ। त्यसैले हजुरले पनि रकम कसैलाई दिन नलाउनु होला भन्ने विश्वास छ।
यही मोबाइलको फेसबुकका कारण मनरूपा भारतमा बेचिन पुगिन्, सुन्तली फोइला गइन् । अनि विष्णुले आफूले कमाएको पैसा शहरकी केटीको लागि खर्च गरेकाले केटाकेटीको विचल्ली भएको छ। फेसबुकमा, टिकटकमा देखिए जस्तो सुख कसैलाई पनि हुँदैन । यी सब बनावटी हुन् भन्ने किन नबुझेका होलान है ? क्षणिक रमाइलोका लागि, सूचनाका लागि, अध्ययन, अध्यापनका लागि त सामाजिक सञ्जालको प्रयोग ठिकै हो । तर अर्कोको आइडि चोर्नु, कसैको प्रतिष्ठामा आँच आउने कार्य गर्नु, ठगी गर्नु सामाजिक सञ्जालका अपराधहरू हुन् । त्यसैले हजुरले पनि जो पायो त्यहीसँग घनिष्टता कायम गर्ने, च्याटिङ गर्ने कार्य गर्नु हुन्न होला । अत्यमा हामीलाई यसबारे अन्तर्राष्ट्रिय स्तरमा कस्तो कानुनी व्यवस्था छ ? बताइदिनु होला । म पनि अबदेखि सामाजिक सञ्जालको समुचित प्रयोग गर्छ र सबैलाई सम्झाउँछु।
(ख) साइबर नैतिकता विषयमा दुई साथीहरूबिच भएको संवादको नमुना तयार गर्नुहोस्।
उत्तर👉 सामाजिक सञ्जालको प्रयोगले समाजमा विभिन्न अपराधिक क्रियाकलापहरू र आत्महत्या, मृत्युसम्मका घटनाहरू घटिरहेका छन् । मानिसहरूले व्यक्तिगत गोपनियता, स्वतन्त्रता र स्वाबलम्बीपना माथि सामाजिक सञ्जाल मार्फत् हस्तक्षेप गरिरहेका छन् । ती सबै क्रियाकलापहरू साइबर अपराधमा पर्दछन् । यहाँ साइबर नैतिकताका विषयमा दुई साथिका बीचमा भएको कुराकानी प्रस्तुत गरिएको छ :
👉 सुबोध : एं सुरक्षा, आजको मेरो टिकटकमा हेर त मैले सुजिताको फोटोको एनिमेशन गरेर गीत compose गरिदिएको भाइरल बनेको छ।
👉 सुदिक्षा : धत् त्यस्तो गर्नुहुन्छ ! उसलाई नसोधी Facebook को फोटो तानेर त्यस्तो उच्छृङ्खल देखाउनु हुन्छ ? विचराको मनमा कस्तो अनुभव भए होला ? साथीहरूले के भने होलान् ? उनी डिप्रेशन मा गइन भने के हुन्छ ? सोचेको छौ ? फेरि आफन्तहरूले साइबर अपराधमा मुद्दा हालिदिए भने तिमी अपराधी ठहरिन्छौ र कानुन लाग्छ।
👉 सुबोध : हो र ? मलाई त थाहै थिएन । ल अब बरबाद भयो। बरु एकचोटी सुरक्षालाई भेट्न जाउन।
👉 सुदिक्षा : सुन ! हामी सबैले साइबर नैतिकताको पालना गर्नुपर्छ । साइबर नैतिकता भन्नाले कम्प्युटर र इन्टरनेटको प्रयोग गर्दा यस सम्बन्धी नीति नियमको पालना गर्ने भन्ने बुझिन्छ । हामीले कसैलाई धोका हुने, नोक्सान पार्ने वा प्रतिष्ठामा आँच आउने काम गर्नु हुँदैन । कम्प्युटर र इन्टरनेटको प्रयोग गर्दा प्रयोगकर्ता, प्रोग्रामर, अपरेटर वा अन्य जोसुकैले कम्प्युटर र इन्टरनेट नैतिकताको पालना गर्नुपर्छ । कम्प्युटर, स्मार्टफोन, ट्याबलेट आदिको प्रयोग गरी सूचना, सफ्टवेयर वा कुनै पनि व्यक्तिगत वा सामूहिक रेकर्डहरू चोरी गर्नु, बिगार्नु वा कम्प्युटर भाइरस को प्रयोग गर्नु हुँदैन । यो एक अन्तर्राष्ट्रिय नियम हो।
👉 सुबोध : ला ! मलाई त यो बारे केही थाहा थिएन । अरू पनि गर्न नहुने कार्य छन् कि ?
👉 सुदिक्षा : अरूका फाइल रेकर्ड खोज्नु, हेर्नु, बिगार्नु, कपी गर्नु, पासवर्ड चोर्नु, व्यक्तिगत बैंक खाता हेर्नु, डिजिटल सही चोर्नु, भाइरस बनाएर प्रयोग गर्नु, झुटा व्यहोराका सूचना दिनु, विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गर्नु — यी सबै साइबर अपराधमा पर्दछन् ।हामीले कसैलाई पनि हानि पुयाउने कार्य गर्नु हुँदैन।
👉 सुबोध : अब बल्ल मेरा आँखा खुले । मैले गल्ती गरेछु । जाउँ सुजितासँग म माफी माग्छु अनि हामी सबै मिलेर उनको तस्वीरमा भएका पोष्ट एनीमेशन र उनलाई नसोधी मैले सियर गरेका पोष्टहरू हटाइदिउँ, हुन्छ ?
👉 सुदिक्षा र सुबोध : ल जाऊँ, हिँड छिटो गरौँ, बरु धेरै जनाले लाइक, शेयर गर्नु पहिल्यै डिलिट गर्नुपर्छ।
ग) विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार मुख्य मुख्य साइबर अपराधको सूची तयार गर्नुहोस्।
उत्तर👉
निषेध गरिएको कार्य सजाय
👉 कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा तीन वर्षसम्म कैद वा दुई लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय
👉 बिना अख्तियारी कुनै कार्यक्रम, सूचना वा तथ्याङकमा पहुँच प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गरेमा दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय
👉 कम्प्युटर सम्पदामा रहेका कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पुयाएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्ता सूचनाको मूल्य र प्रयोगको महत्त्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा वा कसैलाई त्यस्तो काम गर्न लगाएमा दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय
👉 कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा गैरकानुनी सामग्रीहरू वा सार्बजनिक नैतिकता शिष्टाचार विरुद्धकाबढ्दै जाने सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमका अमर्यादित कार्य गर्ने वा गर्न लगाउने एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय दोहोयाएमा १.५ गुणाले आधिकारिक रूपमा पहुँच प्राप्त गरेका कुनै व्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई विद्युतीय अभिलेख, किताब, रजिस्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गरेमा वा भङ्ग गर्न लगाएमा एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय
👉 कुनै विद्युतीय सूचना जानी जानी लुकाएमा वा ढाँटेमा वा जानाजानी झुट्टा व्यहोरा पेस वा दाखिला गरेमा एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय
👉 झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेस गरेमा वा देखाएमा एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय
👉 तोकिएका विवरण वा कागजात दाखिला नगरेमा वा सुरक्षित राख्नुपर्ने विवरण वा कागजात सुरक्षित नराखेमा पचास हजार रुपियाँसम्म जरिवाना
👉 नक्कली डिजिटल हस्ताक्षर प्रमाणपत्र सिर्जना गरेमा, प्रकाशन गरेमा वा अन्य व्यहोराले उपलब्ध गराएमा वा कुनै बिलको भुक्तानी रकम, कसैको खाताको बाँकी रकम वा ए.टी.एम.कार्डमा मिलोमतो गरी वा अन्य कुनै तरिकाले जालसाजी गरी लाभ उठाएमा बिगो कायम गरी सम्बन्धित पक्षलाई कसुर गर्नेबाट भरपाई त्यस्ता कसुरदारलाई एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय
👉 कम्प्युटरसम्बन्धी कुनै कसुर गर्न कसैलाई दुरुत्साहन गरेमा वा त्यस्तो कसुर गर्न उद्योग गरेमा वा षड्यन्त्रमा सामेल भएमा पचास हजार रुपियाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय
👉 कम्प्युटरसम्बन्धी कसुर गर्न सघाएमा वा अन्य कुनै व्यहोराले मतियार भई कार्य गरेमा मुख्य कसुरदारलाई भएको सजायको आधा सजाय
👉नेपाल राज्यबाहिर कम्प्युटरसम्बन्धी कसुर गरेमा त्यस्तो कसुर गरिएको कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्क प्रणाली नेपालमा अवस्थित भएमा नेपालमा भएसरह सजाय
👉 कम्प्युटरसम्बन्धी कसुर ठहर्ने कुनै कसुर गर्न प्रयोग गरिएका कुनै पनि कम्प्युटर, कम्प्युटर प्रणाली,फ्लपी, कम्प्याक्ट डिक्स, टेप ड्राइभ, सफ्टवेयर वा अन्य सहायक उपकरणहरू जफत हुने
👉 सङ्गठित संस्थाका नाममा कम्प्युटरसम्बन्धी कसुर गरेमा संस्थाको सञ्चालनका लागि प्रमुख रूपमा जिम्मेवार व्यक्तिलाई सजाय हुने
👉 पीडित व्यक्तिका हकमा कसुरदारबाट मनासिब क्षतिपूर्ति भराई दिन सक्ने
अभ्यास
(क) साइबर नैतिकता भनेको के हो ?
उत्तर👉 साइबर नैतिकता भन्नाले कम्प्युटर र इन्टरनेटको प्रयोग गर्दा यससम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ। हामीले कसैलाई धोका हुने, नोक्सान पर्ने वा मान प्रतिष्ठामा आँच आउने काम गर्नु हुँदैन । कम्प्युटर र इन्टरनेटको प्रयोग गर्दा प्रयोगकर्ता, प्रोग्रामर, अपरेटर वा अन्य जोसुकैले कम्प्युटर नैतिकताको पालना गर्नुपर्छ । कम्प्युटर, स्मार्ट फोन, ट्याबलेट आदिको प्रयोग गरी सूचना, सफ्टवेयर वा कुनै पनि व्यक्तिगत वा सामुहिक रेकर्डहरू चोरी गर्नु, बिगारिदिनु वा कम्प्युटर भाइरसको प्रयोग गर्नु हुँदैन । यो एक अन्तर्राष्ट्रिय नियम हो । यसलाई पालना गर्नु साइबर नैतिकता हो।
(ख) साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरू उल्लेख गर्नुहोस्।
उत्तर👉 साइबर नैतिकता अनुसार गर्न नहुने कार्यहरू निम्न प्रकार छन् :
👉 अरूका फाइल वा रेकर्डहरू खोज्नु, हेर्नु, बिगार्नु, हटाउनु, कपी गर्नु, प्रयोग गर्नु
👉 अरूको कम्प्युटर पासवर्ड चोर्नु र प्रयोग गर्नु
👉 ग्राहकहरूको व्यक्तिगत बैङ्क खाता हेर्नु, चोर्नु, बिगार्नु, डिजिटल सही चोर्नु र प्रयोग गर्नु
👉 भाइरस बनाएर प्रयोग गर्नु
👉 कम्प्युटरको गोपनीयता भङ्ग गर्नु
👉 झुटा व्यहोराका सूचना दिनु
👉विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नु
👉 कुनै पनि क्षेत्र वा सङ्घसंस्थामा रहेका व्यक्तिगत वा सामूहिक रेकर्डहरू बिना अनुमति हेर्नु, सच्याउनु, चोर्नु र बिगार्नु
👉 विद्यालय वा क्याम्पसका विद्यार्थीहरूको रेकर्ड वा मार्क लेजर चोर्नु, हटाउनु, सच्याउनु वा कुनै किसिमले नोक्सानी पुयाउनु आदि।
(ग) साइबर अपराधबाट बन तपाई के के कुरामा सचेत हुनुहुन्छ, सचेतताका उपायहरू बुंदागत रूपमा उल्लेख गर्नुहोस्।
उत्तर👉 साइबर अपराधबाट बच्ने उपायहरू निम्नानुसार छन् :
👉 आफ्नो सामाजिक सञ्जालको प्राइभेसी सेटिङ (Privacy settings) मिलाउने
👉 कुनै स्टाटस वा कमेन्ट पोस्ट गर्नु पहिले यसले पछि कुनै असर पार्ला कि भन्नेबारेमा राम्ररी सोचविचार गर्ने।
👉 सञ्जालमा राम्रो प्रतिष्ठा प्राप्त गर्न प्रयत्न गर्ने, नराम्रो भाषा वा विषयवस्तुले आफैलाई हानी पुयाउने भएकाले यस्ता कार्यमा सचेत रहने
👉 आफ्नो गोप्य कुरा गोप्य नै राख्ने, सञ्जालमा पोस्ट नगर्ने
👉 आफ्नो कम्प्युटरलाई एन्टिभाइरस, इन्टरनेट सुरक्षा आदि Install गरी सुक्षित राख्ने
👉 कसैले तपाईंलाई कुनै नराम्रो व्यवहार गरेमा तत्काल आफ्नो अभिभावक, शिक्षक वा प्रहरीको सहयोग लिने
👉 बलियो पासवर्ड प्रयोग गर्ने र बेला बेलामा परिवर्तन गरिरहने, Capital letter, Small letter, सङ्केत र सङ्ख्या मिसाएर पासवर्ड राख्ने
👉कुनै शङ्कास्पद सन्देश वा इमेल आएमा त्यसलाई नखोल्ने
👉जथाभावी Friend request नपठाउने, Like comment नलेख्ने, नचिनेको व्यक्तिसँग Chating नगर्ने
👉लट्री, चिठ्ठा, बिंगो गेममा आफ्नो बैंक खाता र डिजिटल हस्ताक्षर पोष्टिङ नगर्ने
👉 धन, दौलत, राम्रो जागिर, विदेशी भिसाको प्रलोभनमा नफस्ने
👉 आफूलाई काम नलाग्ने Website नखोल्ने आदि।
(घ) सामाजिक सञ्जालका फाइदाहरू उल्लेख गर्नुहोस्।
उत्तर👉 सामाजिक सञ्जाल सूचना प्रविधिको हिसाबले निकै नै लोकप्रिय छन् । आजभोलि कुनै पनि व्यक्ति सामाजिक सञजालमा जोडिएन भने जीवन व्यर्थ हुन्छ । ऊ डिजिटल रूपले निरक्षर ठहरिन्छ । वर्तमान समाज, विश्व परिवेश बुझ्दैन र सूचना र सञ्चार क्षेत्रमा पछि पर्दछ । त्यसैले सामाजिक सञ्जाल जीवन सार्थक बनाउन अत्यन्तै उपयोगी छ। यसका फाइदाहरू देहाय अनुसार छन् :
👉 सामाजिक सञ्जाल, फेसबुक, ट्वीटर, भाइवर, इमो, युट्युव, इन्स्टाग्राम, लिङ्कडेन, ह्वाट्सएप लगायत विभिन्न स्वरूपमा छन् । जसबाट सजिलै र द्रुत गतिले व्यक्तिसँग अन्तरक्रिया गर्न सजिलो भएको छ।
👉 छोटो समयमा धेरै सूचना प्राप्त गर्न सकिने समयको बचत हुने, मानव स्रोत नलाग्ने, श्रव्यदृश्य पुरै सामग्री हेर्न, सुन्न र आफ्नो comment लेख्न पाइने ।
👉 अनुसन्धान र अध्ययनको लागि सजिलै सूचना, स्रोत र तथ्याङ्क उपलब्ध हुने।
👉 वैकल्पिक शिक्षण सिकाइ, भर्चुवल कक्षा सञ्चालन, अनुभव साटासाट गर्ने एक भरपर्दो माध्यम।
👉 व्यापारी, उद्योगी, अनुसन्धानकर्ता, सञ्चारकर्मी, शिक्षाकर्मी, कानुन व्यवसायी, कर्मचारी, राजनीतिज्ञ सबैको लागि भरपर्दो सूचनाको स्रोत भएकाले प्रयोग गर्ने गरेको।
👉 कठिन, जटिल र समस्यामूलक प्रश्नहरूको सजिलै समाधान गर्न सकिने उपायको खोजी गर्न सकिने।
👉 टाढा-टढा वा देश बाहिरका आफन्त, नातागोता, इष्टमित्रसँग Video cell गर्न सकिने । छिट्टै सञ्चार सम्पर्क हुने।
👉 आफ्ना विचारहरू, भावनाहरू, पोस्टिङ गरी सामाजिक सञ्जालमा ख्याति कमाउन सकिने।
👉 विभिन्न देशका प्राकृतिक स्रोत साधन, धर्म संस्कृति, रीतिरिवाज, पुरातात्विक वस्तुहरू अवलोकन गर्न सकिने।
👉 गीत सङ्गीत, खेलकुदका लाइभ प्रसारण हेर्न सकिने रेकर्डहरू डाउनलोड गरी पुनः हेर्न प्रयोग गर्न सकिने।
👉 विभिन्न पुस्तक, औषधि, चिकित्सा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू हेर्न, पढ्न, अध्ययन गर्न र सूचना प्राप्त गर्न सकिने।
👉 वैज्ञानिक आविष्कार, विज्ञान प्रविधि, आधुनिक जीवनशैली, यन्त्र उपकरणहरूको कार्य प्रणाली अवलोकन गर्न सकिने।
यी लगायत अन्य थुप्रै फाइदाहरू सामाजिक सञ्जालको प्रयोगबाट लिन सकिन्छ तर सामाजिक सञ्जालको नैतिकताको ख्याल गर्नुपर्ने हुन्छ।
प्रयोगात्मक अभ्यास
शिक्षकको सहयोगमा आफूले अध्ययन गर्न चाहेको एक समस्या वा विषय वा मुद्दा छान्नुहोस् । यससँग सम्बन्धित भएर अध्ययनको समस्या, अध्ययन गर्ने तरिका, समस्या समाधानका लागि तथ्याङ्क र जानकारीहरू सङ्कलन गर्ने तरिका, विधि र साधन तथा प्रस्तुतीकरणका पक्षहरू समावेश गरी अध्ययन प्रस्तावना तयार गर्नुहोस् । तयार भएको प्रस्तावना प्रिन्ट गरेर शिक्षकलाई बुझाउनुहोस् । (यसका लागि सम्भव भएसम्म विद्यालय वा घरमा भएका कम्प्युटर प्रयोग गर्नुहोस्।
उत्तर 👉
विषय : माघे संक्रान्तिमा तिल र चाकुको प्रयोग
हरेक वर्ष हामी माघे संक्रान्तिका दिन तिलको लड्डु, चाकु, तरुलको प्रयोग गछौं । यसको कारण जान्नका लागि मैले विज्ञान शिक्षकलाई सोधे । वृद्ध पण्डितहरूलाई सम्पर्क गरे । मौसम विभागका सेवा निवृत्त कर्मचारीहरूसँग सम्पर्क गरे । इन्टरनेटमा खोजे । मैले केही जानकारी प्राप्त गरे । प्राप्त जानकारी अनुसार, हाम्रो दशेमा माघे संक्रान्तिदेखि सूर्य उत्तरायण हुन्छ । हाम्रो देशमा गर्मी सुरु हुन्छ । गर्मी महिनामा रोगव्याधिको प्रकोप हुन सक्छ । गर्मीले हामीलाई पिरोल्न सक्छ। तिलले शितलता प्रदान गर्छ । तिलको प्रयोगले गर्मी कम हुन्छ। चाकुले शरीरभित्र ऊर्जा प्रदान गर्दछ। आयुर्वेदमा चाकुलाई कफानाशक मानिन्छ । तरुल जस्ता खाद्यवस्तु सजिलै पच्छ । पेटको समस्या नभए निरोगी होइन्छ । रोगव्याधिबाट जोगिन्छ । यसकारण माघे संक्रान्तिमा तिल, चाकु र तरुलको प्रयोग भएको जानकारी पाएँ।
